नाकाबन्दी अन्तर्राष्ट्रियकरणको आवश्यकता

नेपालले ७० वर्षको सपना साकार गरेको खुसीयाली मनाउन नपाउँदै भारतले नाकाबन्दी ग¥यो र आफ्नो ठालुपनलाई फेरि सिद्ध ग¥यो । भूकम्पमा दसौं हजारको ज्यान गुमाएर शोकमा रहेको मुलुकमा आशा जगाउने दीयो संविधान निर्माण गरेकै हो । तर, भारतले त्यो खुसी देखी सहेन । कारण उसको स्वार्थ सिद्ध हुने निर्णयमा नेपालका नेताहरु पुगेनन् । मधेसमा एकै प्रदेश बनाउन चाहेको भारत त्यो नहुने ठानेर पहिल्यैदेखि मुर्मुरिएकै थियो झन् मधेसमा बनेका प्रदेशहरुमा उसले चाहेको सीमांकन नभएपछि नाकाबन्दीमै उत्रियो ।
कहाँसम्म भने भारतले बुँदा नै तोकेर संविधानमा उल्लेख गर्न सुझाएको थियो । अंगिकृत नागरिकता हुनेलाई पनि मुलुकको उच्च पदमा पुग्न पाउने व्यवस्था गर्न भारतले भनेको थियो । सोनिया गान्धी भारतमा नजम्नेको भनेर प्रधानमन्त्री हुन रोक्ने भारतीय जनता पार्टीकै सरकारले नेपालमा भने अंगीकृतवालालाई पहुँचमा पु¥याउन खोज्नु भनेको भविष्यमा नेपाललाई भुटान जस्तै पपेट बनाउने योजना रच्नु हो । अथवा ऊ नेपाललाई सिधै फिजी बनाउन चाहन्छ । फिजीमा भारतीयहरुको हालीमुहाली छ । त्यहाँ प्रधानमन्त्री पनि भारतीय मूलकै व्यक्ति बनेका छन् । महेन्द्र चौधरी फिजीमा प्रधानमन्त्री भएपछि भारतलाई त्यहाँ रजाइँ गर्न गज्जब मौका मिलेको थियो ।
नेपालका नदीहरु कोसी, गण्डी र कर्णाली अनि महाकाली सबै एउटै मधेस प्रदेशमा पार्न सकेको भए, मधेस प्रदेशलाई मनाएर आफ्नो देशमा नदी जोड्ने र सिँचाइको भरपुर फाइदा उठाउने भन्ने भारतको मनसाय हो । तर नेपालका नेताहरुले त्यो मनसाय पूरा हुन दिएनन् । यसमानेमा भने नेपाली नेताहरुको यसपालिको आँटलाई मान्नै पर्छ ।
भारतले नाकाबन्दी लगायो भनेर चीनबाट तेल ल्याउन सम्झौता गर्नु पनि उचित हो । भारतसँग सधैं किन्दा किन्दै कुनै बाहना बिना चीनसँग तेला सम्झौता गर्न अलि अनुकूल नहुन सक्थ्यो । मौका यही हो भारतलाई भन्ने कि, ‘हामीसँग उत्तरी विकल्प पनि छ । भारतसँग जत्तिकै जत्तिकै हामी चीनसँग पनि भूगोल जोडेर बसेका छौं ।’
अब त्यतिले मात्रै भारतलाई झुकाउन सकिन्न । भारतले गरेको नाकाबन्दीको अन्तर्राष्ट्रियकरण यसको अर्काे उपाय हो । विश्वनेताका रुपमा उदाउँछु भन्ने सपना देखेका नरेन्द्र मोदीलाई अन्तर्राष्ट्रिय समुदायमाझ नांगेझार पार्नैपर्छ । यसका लागि नेपालले कूटनीतिक प्रयास गर्नुपर्छ । अर्काे कुरा हामी अन्तर्राष्ट्रिय अदालत पनि जानुपर्छ । तब मात्रै भारतले भोलिका दिनमा हत्तपत्त नेपाललाई हेप्न सक्दैन । हामी नेपाली जन्मैदेखि स्वतन्त्र छौं, हामीलाई कसैको परतन्त्री स्वीकार छैन भन्ने सन्देश भारतलाई दिने र उचित पाठ सिकाउने बेला यही हो । भारत जति नै ठूलो देश किन नहोस्, नेपाल पनि सार्वभौम सत्ता सम्पन्न स्वाधीन मुलुक हो भन्ने हैसियत हामीले देखाउनै पर्छ । अर्काे कुरा भारतसँग यति धेरै पेट्रोलियम निर्भरता घटाउने दीर्घकालीन उपाय भनेको बिजुली नै हो । त्यतापट्टि पनि हामी लाग्यौं भने हाम्रा पुर्खाले आर्जेको वीर गोर्खालीको नाम फेरि चम्कनेछ विश्वभरि ।