ओस्कर २०२० : प्यारासाइट उत्कृष्ट चलचित्र, वाकिन फिनिक्सले उत्कृष्ट नायक, रेने जेल्वेगर उत्कृष्ट नायिका

माघ २७, लस एन्जलस (अमेरिका) । फिल्म जगतमा सबैभन्दा प्रतिष्ठित मानिने पुरस्कार ओस्करमा यस वर्ष दक्षिण कोरियाली चलचित्र प्यारासाइटले अहिलेसम्म कसैले बनाउन नसकेको कीर्तिमान बनायो ।

ओस्करमा यस वर्ष प्यारासाइटले उत्कृष्ट चलचित्रको उपाधी हात पार्‍यो । फिल्मको कथा दुई परिवारमा आधारित छ । आर्थिक रुपमा सम्पन्न र विपन्न परिवारबीचको वर्ग संघर्षको कथा देखाइएको छ ।

अंग्रेजी भाषा बाहेक अन्य भाषामा बनेको फिल्मले यो उपाधी पाएको ओस्करको इतिहासमा यो पहिलो पटक हो । कोरियाली निर्देशक बोङ जुन हो निर्देशित यो फिल्म कोरियाबाट ओस्करमा मनोनित हुने पहिलो फिल्म थियो । उत्कृष्ट निर्देशकको अवार्ड पनि बोङले नै जितेका छन् ।

गैर–अंग्रेजी भाषामा बनेको उत्कृष्ट चलचित्र र बेष्ट ओरिजिटल स्क्रीन प्लेको उपाधि पनि प्यारासाइटकै पोल्टामा परेको छ ।

यस वर्ष ओस्करमा उत्कृष्ट अभिनेता जोकर फिल्मका लागि वाकिन फिनिक्सले घोषित भएका छन् । उनलाई यो उपाधिको प्रबल दाबेदारका रुपमा हेरिएको थियो । त्यस्तैगरी, जुडी चलचित्रका लागि रेने जेल्वेगर उत्कृष्ट नायिकाको उपाधि हात पारेकी छिन् ।

उत्कृष्ट सहअभिनेताको उपाधी ‘वन्स अपन अ टाइम इन हलिउड’ का लागि ब्राड पिटले जिते । ३० वर्षदेखि बलिउडमा जमेर बसेका ब्राडले अभिनयका लागि पाएको यो पहिलो ओस्कर हो ।
यस अघि निर्माताका रुपमा ‘ट्वेल्भ इयर्स ए स्लेभ’का लागि सन् २०१४ मा उनले ओस्कार हात पारेका थिए । ‘म्यारिज स्टोरी’का लागि लोरा डेर्नले उत्कृष्ट सहनायिकाको पुरस्कार हात पारिन् ।

प्यारासाइटले उत्कृष्ट निर्देशनसहित चार ओटा उपाधि जित्दा साम मेन्डेसको चलचित्रले १९१७ ले पनि तीन ओटा उपाधि हात पारेको छ ।

पहिलो विश्व युद्धको पृष्ठभूमिमा बनेको फिल्मले उत्कृष्ट भिजुअल इफेक्ट र उत्कृष्ट सिनेमाटोग्रापी र बेस्ट साउन्ड मिक्सिङको उपाधि मिलेको छ । ओस्करमा यो चलचित्र १० ओटा विधामा मनोनित भएको थियो । एजेन्सी