अमेरिकाले विकासशील मुलुकको सूचीबाट भारतलाई हटायो

नयाँ दिल्ली (भारत) । अमेरिकाले भारतलाई ‘विकासशील मुलुक’को सूचीबाट हटाएको छ । यो सूचीमा रहेका मुलुकले विभिन्न किसिमको व्यापारिक सुविधा पाउँदै आएका छन् । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारत र चीन लगायत मुलुकलाई विकासशील मुलुकको सूचीमा राखिनु न्यायोचित नभएको बताउँदै आएका थिए ।

फेब्रुअरी २४–२५ मा ट्रम्प भारत भ्रमणमा आउँदै छन् । त्यसअघि अमेरिकाले यस्तो कदम चालेको हो । अमेरिकाको व्यापार प्रतिनिधिको कार्यालय (यूएसटीआर)ले ब्राजिल, इन्डोनेशिया, हङकङ, दक्षिण अफ्रिका र अर्जेन्टिनालाई दिँदै आएको व्यापारिक सौविध्य पनि हटाएको छ । भारत जी२० मुलुकको सदस्य बनेको र विश्व व्यापारमा उसको हिस्सा शून्य दशमलव ५ प्रतिशत पुगिसकेको कारण भारतलाई विकासशील मुलुकको सूचीबाट हटाइएको अमेरिकाले बताएको छ । गत वर्ष अमेरिकाले भारतलाई दिँदै आएको व्यापारिक सौविध्य हटाउने निर्णय गरेको थियो । ट्रम्पको भारत भ्रमणमा भारतलाई पुनः उक्त व्यापारिक सौविध्य फिर्ता हुन सक्ने विश्लेषकले बताएका थिए । सोमवारको अमेरिकी कदमले यो सम्भावना अझै कमजोर बनेको छ ।

यूएसटीआरले विश्व व्यापारमा शून्य दशमलव ५ प्रतिशतभन्दा बढी हिस्सा भएको मुलुक विकसित मुलुक बन्ने भएकाले भारतले उक्त सीमा पार गरिसकेको बताएको छ । सन् २०१८ मा भारतले विश्वको समग्र निर्यातमा १ दशमलव ६७ र आयातमा २ दशमलव ५७ प्रतिशत हिस्सा थियो । गत वर्षको जुलाईमा ट्रम्पले आफैंले ‘विकासशील मुलुक’ घोषणा गरेका मुलुकमाथिको नियम परिवर्तन गर्न सुझाव दिएका थिए । त्यसैले अमेरिकाले विशव व्यापारमा शून्य दशमलव ५ प्रतिशतभन्दा बढीको हिस्सा भएका ब्राजिल, भारत, इन्डोनेशिया, मलेशिया, थाइल्यान्ड र भियतनामलाई विकासशील मुलुकको सूचीबाट हटाएको हो । यो सूचीबाट बाहिरिसँगै यी मुलुकबाट आउने सामग्रीमा राष्ट्रिय उद्योगको लागि हानिकारक रहेको वा नरहेको भन्ने पनि अनुसन्धान हुनेछ । एजेन्सी