अमेरिकाले बढायो यूरोपेली विमानमा अतिरिक्त महसुल

फागुन ३, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले यूरोपबाट आयातित विमानमा अतिरिक्त महसुल बढाएको छ ।

शुक्रवार त्यहाँको व्यापार प्रतिनिधिको कार्यालय ( यूएसटीआर) ले यस अघि १० प्रतिशत रहेको यूरोपेली संघ (ईयू) बाट आयातित विमानको अतिरिक्त कर बढाएर १५ प्रतिशतमा पुर्‍याएको हो ।

योसँगै करीब १६ वर्षदेखि दुई पक्षबीच विमान निर्माताहरूलाई अनुदान दिएको विषयमा चलिरहेको विवाद थप भड्किने देखिएको छ । यो विषय सुल्झाउन ईयूसँग वार्ताको लागि भने आफू खुला रहेको र कदम सच्याउन तयार समेत रहेको एक विज्ञप्तिमा यूएसटीआरले बताएको छ ।

यूएसटीआरका अनुसार ईयूबाट आयातित चिज, वाइन र विमान बाहेक अन्य उत्पादनमा लगाइएको २५ प्रतिशत अतिरिक्त महसुलमा सामान्य हेरफेर गर्न सकिनेछ ।

अमेरिकाले अक्टोबरमा नै यी वस्तुमा अतिरिक्त महसुल बढाउने बताएको थियो । तर त्यति बेला यसमा महसुल बढाइएको थिएन । बढेको कर मार्च १८ देखि कार्यान्वयनमा आउनेछ ।
डेढ वर्षको व्यापार युद्धपछि जनवरीको शुरुमा अमेरिकाले चीनसँग पहिलो चरणको व्यापार सम्झौता गरेको थियो ।

यूरोपसँगको व्यापार सम्बन्धलाई पनि पुनःसंरचना गर्ने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको दाउ छ । आफूहरु अमेरिकासँग वार्ता गर्न तयार रहेको भएपनि उसको धम्कीले भने नझुक्ने यूरोपेली अधिकारीहरुले बताएका छन् ।

अमेरिकाको यस कमदले उल्टै अमेरिकी विमान निर्माता कम्पनीहरु मारमा पर्ने फ्रान्सेली विमान निर्माता कम्पनी एयरबसले बताएको छ । एजेन्सी