जीईको इन्जिन चीन निर्यातमा रोक लगाउँदै अमेरिका

वाशिङटन डीसी (अमेरिका) । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको प्रशासनले जनरल इलेक्ट्रिक (जीई)को हवाई इन्जिन चीन निर्यातमा रोक लगाउने तयारी गरेको छ । स्थानीय समाचारपत्रिका वाल स्ट्रीट जर्नलमा प्रकाशित समाचार अनुसार चीनले जीईका हवाई इन्जिन बनाउने तरिका चोर्न सक्ने आशंकामाा उसको इन्जिन निर्यातमा रोक लगाउने तयारी गरिएको हो ।

समाचारमा उल्लेख गरिए अनुसार अहिले अमेरिका सीएफएमलाई दिन लागिएको अनुमतिपत्र अस्वीकार गर्ने तयारीमा देखिएको हो । सीएफएम जीई र फ्रान्सको सफ्रान एसएको ज्वाइन्ट भेन्चर हो । चीनमा लीप वानसी जेट इन्जिन चिनियाँ विमान निर्मातालाई डेलिभरी बढाउन यो ज्वाइन्ट भेन्चरको स्थापना गरिएको हो । यसले जीईको व्यापारमा नकारात्मक असर पार्न सक्ने समाचारमा उल्लेख गरिएको छ । अहिले जीई ज्वाइन्ट भेन्चरको प्रस्ताव पारित गराउन संघर्ष गरिरहेको छ । जीईले भने अहिले आफूले निर्माण गर्न लागेको इन्जिन लामो समयदेखि चीनमा प्रयोग भइरहेकाले इन्जिन निर्माणको तरिका चोरी हुने सम्भावना नरहेको बताएको निकट स्रोतलाई उद्धृत गर्दै समाचारमा उल्लेख गरिएको छ ।

ट्रम्प प्रशासनले आगामी बिहीवार यस विषयमा निर्णय हुनसक्ने बताइएको छ । जीईको ज्वाइन्ट भेन्चरको प्रस्ताव अमेरिकाको चीनसँगको पहिलो चरणको सम्झौता भएसँगै आएको थियो । जीईको लागि हवाई व्यवसाय मुख्य व्यपारको रुपमा रहँदै आएको छ । एजेन्सी