अमेरिकी वस्तुमा अतिरिक्त कर हटाउँदै चीन

पेचिङ (चीन) । चीनले ६९६ अमेरिकी वस्तुमा लगाइएको अतिरिक्त कर हटाउने तयारी गरेको छ । अमेरिकासँगको पहिलो चरणको व्यापार सम्झौता पूरा गर्ने क्रममा चीनले उक्त अमेरिकी उत्पादनमाथिको अतिरिक्त कर हटाउने तयारी गरेको हो । फेब्रुअरी १४ देखि पहिलो चरणको व्यापार सम्झौता कार्यान्वयनमा आएसँगै मंगलवार चीनले यस्तो घोषणा गरेको हो । यो अमेरिकी वस्तुमा लगाइएको कर हटाउन गरिएको तेस्रो चरणको अतिरिक्त कर छूटको निर्णय हो ।

चीनले आगामी २ वर्षमा २ खर्ब डलरको वस्तु तथा सेवा खरीद गर्ने वाचा गरेको छ । सम्झौताको एक हिस्साको रूपमा चीनले अमेरिकी वस्तु तथा सेवा खरीद बढाउने भएको हो । अहिले चनिले अघि सारेको अतिरिक्त कर छूटमा सँुगुरको मासु, गाईगोरुको मासु, भटमास, नेचुरल ग्यास र कच्चा तेल लगायत वस्तु छन् । अमेरिकासँगको व्यापार युद्धको क्रममा चीनले उक्त सामग्रीमाथि कर बढाउने निर्णय गरेको थियो ।

नयाँ कोरोना भाइरस कोभिड–१९ फैलिएसँगै चीनले अमेरिकासँग सम्झौता गरे अनुसार उत्पादन खरीद गर्नेमा आशंका बढेको छ । यो भाइरसको कारण अहिलेसम्म झण्डै १ हजार ९०० जनाको ज्यान गइसकेको छ भने ७३ हजारभन्दा बढी मानिस संक्रमित बनिसकेका छन् । भाइरसको कारण चीनमा अधिकांश कारखाना बन्द छन् । यसले उत्पादनमा ठूलो असर देखिएको छ । मानिसहरू अहिले भाइरसको त्रासले घरबाट बाहिर निस्किन डराइरहेका छन् । यसले सार्वजनिक खपतमा पनि कमी देखिएको छ । यसले चीनको समग्र अर्थतन्त्र समस्यामा पर्न सक्ने विश्लेषकले बताएका छन् ।

अमेरिकी राष्ट्रपति कार्यालय ह्वाइट हाउसका सल्लाहकार लेरी कुड्लोले यो महीनाको शुरूमा चिनियाँ राष्ट्रपति सि चिनफिङले अमेरिकी समकक्षी डोनाल्ड ट्रम्पसँग पहिलो चरणको व्यापार सम्झौता अनुसारको खरीदको लक्ष्य पूरा गरिने बताएका थिए । कम्पनीले मार्च २ बाट आवेदन दिन पाउनेछन् । यसरी दिइएको कुनै पनि छूट १ वर्षका लागि मान्य हुनेछ । एजेन्सी