मुना कार्कीको सम्झनामा

पूनम काफ्ले

माघ महिनाको सोमवार, मुना कार्कीको हत्याको समाचार सुनेर मन विक्षिप्त हुनाको साथै, मुना कार्कीको तस्विर देखेर खुलदुल मात्र होइन मेरो मुटु नराम्ररी बटारियो|
मलाई केही सम्झे जस्तो, केही बिर्से जस्तो, केही चिने जस्तो, कता कता केही झझल्को आए जस्तो, कसैको मुहार संग मुनाको मुहार मिले जस्तो, अनि कोही मेरो आँखा सामु आएर मुस्कुराईरहे जस्तो लाग्यो, तर लाख प्रयास गर्दा पनि मैले केही सम्झिन| सरसरती घटनाको लेख पढें, खास जानकारी भएन, मन झन झन् अशान्त भयो|मुना कार्कीको सुन्दर शान्त सौम्य, मुहार हेरिरहें, मन दुखिरह्यो|

आजकाल फोन गर्नु एक प्रकारको टन्टा भइसकेको छ, म पारिवारिक “च्याट” तिर लागें | पारिवारिक “च्याट”मा मुनाकै विषयमा कुराकानी भइरहेको रहेछ ,मन ढक्क फुलेर आयो| मेरो बिर्सना,सम्झना बनेर फक्रिन खोज्दै थियो, मैले सोधें, कृपाको बहिनी, मुना अधिकारी हो ?? सबैले हो भनेर आ-आफ्नो दुखेसो पोखे|
मुनाकै बिषयमा धेरै बेर कुरा भए पछि फोन नगरी बस्न सकिन| कसैले अस्ति शनिबार मात्र मुनालाई भेटेको, कसैले उनको सुमधुर व्यवहारको वर्णन , कसैले तीन छोराछोरीको आमा भएर पनि कति सुन्दर, कसैले टोल भरी मुनाको दुखद निधनको चर्चा चलिरहेको आदि इत्यादि कुराहरु सुनाए|

हुन त मैले मुनालाई न देखेको र न भेटेको धेरै भइसकेको थियो तर पनि मुनाको सुन्दरता, शालीनताको गुणगान भने हामी बीच हुने गर्थ्यो| हुन पनि मुना सानै देखि अत्यन्त राम्री र ज्ञानी थिइन्| मुनाको तेजिलो आँखा र प्रदीप्त मुहार मेरो सामु नाँचिरह्यो| म अवाक बन्दै गएँ |
मुनाको माइती र मेरो माइती नजिकै थियो, अहिले घरहरु धेरै बनेर मुनाको माइती छेकिए पनि उनको परिवार संग सम्पर्क भने हुने गर्थ्यो|
दिदीको हात समाएर पढ्न जाने पुतली जस्ती बच्ची देखि जवान भएर मुस्कुराउँदै हिड्ने हँसिली रसिली मुना सम्झेर म भाव विह्वल भएँ| त्यस रात म पटक्कै निदाउँन सकिन, मुनाको आमा र उनको परिवारको पीडा महसुस गरिरहें|

धेरै बर्ष अगाडि एउटा इन्जिनियर हुरुक्क भएर मुनालाई माग्न आएको भन्ने कुरा मुनाको आमाबाट सुने ता पनि मुना अधिकारीवाट मुना कार्की भएको भने मलाई पत्तै थिएन, त्यसैले मुना कार्कीको तस्विर देखेर म अनियंत्रित भएँ |

मुना त अब यस दुनियाँमा छैनन्, उनको सम्झना मात्र छ| आज यो रहस्यमय हत्याले देश रोएको छ,नानाथरीका कुराले पत्रिका पिटेको छ| मरेको एक नारी माथि पनि घिनाहा आरोप लागेको छ|
कोही उनकै पति अर्जुन कार्कीलाई शंकाको नजरले हेर्छन्, कोही विजय चौधरीले नै हत्या गरेको हो भन्छन्, कोही मुनाको हत्यामा तेस्रो व्यक्तिको हात छ भन्छन्| कोही फेरिअर्जुन कार्कीलाई बदला लिन यो हत्या रचेको हो पनि भन्दछन्|
प्रहरीको अनुसन्धानको रिपोर्ट एका तिर छ भने, चाहिँदा न चाहिँदा अफवाह एका तिर छ| जे होस् हत्या, अपत्यारिलो रअत्यन्त दुखदायी छ||

यो संसारमा सब भन्दा शक्तिशाली नाता भनेको आमा र उनको कोखबाट जन्मेको सन्तानको बीचमा हुन्छ| एउटा आमाले सन्तानको लागि आफ्नो मुटु बिछ्याएकि हुन्छे, आफ्नो सर्वस्व सुख छोराछोरीलाई सुम्पेर, छोरा छोरीको खुशीमा जिएकि हुन्छे, अनि उनैको भविष्यको लागि अमूल्य सपना बुनेकि हुन्छे |

जब आमाको उमेर ढल्छ, तब उ छोराछोरी आफ्नो नजीक खोज्छे ,उ छोरीलाई, छोरीको रुपमा होइन आमाको रुपमा भेट्छे र उ धेरै आशाहरु फक्राउँछे| उनको मन यति कोमल र दयालु हुन्छ कि छोरीको सानो साथ र माया मात्रमा पनि आफ्नो जीवन साकार भएको पाउँछे,अझ भनौ टाढिएको छोरीको एउटा फोनबाट पनि हजार संतोषको सास फेर्छे, अनि छोरी नै आमाको ताकत बन्छ र उ ढुक्क भएर मुस्कुराउँछे|

आज ती उम्मीदहरु मेटिएको मुनाको एकल आमाको स्थिति कस्तो होला? क्रुरता बस मारिएकी छोरी गुमाउनुको पीडा उनले कसरी मात्र सहन गरेकि होला? बीभत्स तरिकाले आफ्नो छोरी रगतको होलीमा डुबेको देख्दा उनको हृदय कति पटक चरचरी चिरियो होला?
सुन्छु, मुनाको आमाको धैर्यको बाँध टुटेको टुट्यै छ अरे, उनीमा आत्मबल आउन सकेकै छैन अरे| यो अपूरणीय र कष्टदायी जीवन संचालन गर्न उनलाई साह्रै मुस्किल भइरहेको छ अरे|

यो सम्बन्धमा एकलाई दुख्दा अर्कोलाई अझ बढी दुख्छ| मुनाका छोरीहरुले आमाको दुखद निधनमा आफ्नो क्रन्दन र बेदनालाई थुन्दै आमाको अन्तिम बिदाईको लागि कसरी कदम चाले होलान? छोराले दिवंगत आमाको रगतमा कसरी पाइला टेक्यो होला?
अब ती मुनाका अबोध छोराछोरीले कसमा भरोसा राखुन? कसलाई बिश्वास गरुन ? ममता र सहारा खोज्न कहाँ जाउन्? उनीहरुको आमाको दिन दहाडै क्रूरताबस हत्या भएको छ, उनीहरु जनताको सहानुभूति र दयाले मात्रले कसरी आँखा ओभानो राखुन?

आमाको कमी, त्यही आमाको कोखबाट जन्मेको छोराछोरीलाई मात्र ज्ञात हुन्छ, अरु कसैले नापेर नाप्न सक्तैन, बुझेर बुझ्न सकतैन|

मुनाको अकाल मृत्युको पीडा धमिल्याउँदै उनको छोराछोरी आत्म निर्भर बन्न सकुन, उनीहरुको भावि जीवन साकार बनोस| भगवानको कृपा दृष्टि मुनाको परिवारमा रहोस, यही कामना गर्दछु|
यस्तो दुखद स्थिति कसैले भोग्नु नपरोस| मुनाको श्रीमान लगायत सम्पूर्ण परिवारमा सहनसक्ने शक्ति प्रदान होस्|
मुनामा प्रिय अभिव्यक्ति चढोस| मुनाको आत्माले शान्ति पाओस| हार्दिक श्रद्धाञ्जली मुना |