हैजाले बचाएको कोरोनाबाट तर्सेकी आमा !

किसनसिंह धामी
आज धेरै दिन पछि मैले मेरी सासु-आमासंग कुरा गरे, नेपालमा । नेपाल भन्नाले बिशेष गरि काठमाडौलाई मात्र सम्झनु हुन्छ होला तर काठमाडौ होइन, काठमाडौभन्दा पश्चिम, सुदूरपश्चिम, सुदूरपश्चिमन्चलको, दुर्गमजिल्ला, दुर्गमजिल्लाको पनि एक्लिएको पहाड़ी जिल्ला, जिल्लाको पनि पहाडीगाउँ, निलो हिमनदीको हरिया डिलहरू, हरियाली फाटजस्तै सुन्दर बस्ती, रमाइलो बातावरण, हरियाली डाडाकांडा, खोलानाला र झर्नाहरू, सुरेली कँुहँु चरीको गीतको अवाज, कैलाश पर्वतबाट आउने लोभलाग्दो हवा ! भोक, थकान र प्यॉस मिटाउंने सिरसिरे सल्लारूखहरूको बतास, नत सम्म परेको ठाउँ, नत भिरालो, न त ओकालो थियो, नत ओरालो नै ! न त लेक नै हो त्यो, न त बेश नै, न त बलौटे माटो न त मलिलो माटो नै ! रातोमाटी पनि त होइन, न त खरखडे ढुंगा नै, सिमल गैरो पनि होइन, न त खेत नै हो तर जुन ठाउँ हो त्यो ठाउँ सासु-आमा बसिरहेकाे ठाउँ भएक त्यो ठाउँको ठुलो महत्व छ र मेरो लागि रहिरहनेछ ।
फोनमा सासु-आमासंग कुरा भइरहेको थियो । लगभग पंद्रह बर्षअगाडींसम्म पल्लो गाउँको डॉक बोक्ने पुजारा काकालाई ज्वाई-छोरीको चिठ्ठिआयो भनेर सधै सोधिरहने आमाले त अहिले आफैले मोबाइलबाट फोनगर्ने भइसकिछिन् ! केहि बर्ष अगाडीसम्म त नातनीलाई फोन नम्वर दबाईदिनु भन्ने आमाले नातनीले बिहे गरेर आफ्नो घर गईसकेपछि, आमाले आफै मोबाइलबाट फ़ोन गर्ने भइसकिकि रहेछिन् । वहॉको एउटा छोरा दुबहिमा बस्छन् तिनलाई पनि फोनगर्दा फोननंम्बर आफै दबाउंदारहेछन्, सासु-आमालाई जति जति बुढोपनले छुदैं छ त्यति त्यति आमामा जवानी आउदैछ ।अर्थात अतीत सम्झदै फोनमार्फत सासु-आमाले भन्नु भयो > मैले घासबोक्ने बाटोमा अहिले मोटर गुड्नथाले ।
पानी बोक्ने पधेरो, आगनमै आइपुग्यो, फोन गर्न पनि उता बुथमा गएर दिनभरि लाएर फोनपर्खनु पर्दैन, यी मोबाईलहरू हात हातमा छन्, पाइखाना गर्न त खेरबारीमा जादै जादैनौ, उ यहिपर चर्पिघर बनाएको छ श्याम्मुले ।भैसीगोठ छैन अहिले, बाख्राको नाममा तिनवटा पाठीछिन्, दुइटा बोका छन् एउटालाई त पर भागेकीछु, अब ललुआयो भने मन्दिरमा पुजा गर्नु पर्छ,
एकोहोरो सासु-आमाले फोनबाट भट्याउंदै गइन् म सुनि रहें किनकि मलाई पुरै फुर्सत थियो सासु-आमालाई मात्र सुन्न । बिच बिचमा “सुणिन् लाछ” भन्ने मात्र शब्द हुन्छ नत्र फगत आफ्नै जवानीका कुरा ।
कुराको बिचमा भन्नु भयो ‘बावु के हो बिमार आको छ नि’ ? मैले भने, हो, आमा ! आएको छ । त्यसपछि लगातार फोनमा बोल्न शुरू गर्नु भयो, मलाई त पालै दिनु भएन, मैले पनि सुन्नै चाहेको थिएँ र सुनि रहे । “बाबु ख़्याल गर्नु, नातनीलाई पनि भन्नु तारालाई पनि राम्ररी काम गर्नु भन्नु” ‘हुन त दीन नआन्ज्याँसम्म के नाइहुन्योहो, त बि ल मेरो भन्ने कर्तब्यहो ।
यॉ ल आयो भण्डान् तर यो त ९० सालो भुकम्पपाछा आएको ‘हैज़ा’ जसो नाहो रे, यो त मान्स्यॉका हात मुखबटे मात्र सरन्छ रे, यां को आउन्यां हुन् र ? हातु छुनाकि लिंखा त” !
अनि सासु-आमा भन्दै जानुभयो ‘पचास साठी उमेरका बिरामी हुन्छन् रे ! मर्ने पनि तिनै छन् भन्छन्, ठुला देशबाट आएको रे यो बिमार, मान्छेबाट सरेको रे, गालानि हातहाले पछि, मुखमा मुख जोड़े पछि यो सर्छ रे, त्यसो जनगर्या । डाक्टर ले ल नछोएर कॉ काम गर्लान त छोयो भने तिनलाई पनि सरि हाल्छ नि ? त्यहि सर्छ भनेर त घरमा नै बसि रहनु भनेको होला ।
यो गाउँमा को आउलान् र ? ह्या कस्तो कस्तो हैजा आएर त केहिभएन, हवाहुरीबाट आएको बिमारले त केहि भएन, यो हात मिलाएर हुने बिमार पो कस्तो होला र ? जे हुने हो त्यो भइ नै हाल्छ,
किन डराउनु, राज्यले गर्नु पर्ने औसधिमुलो गरिहाल्छ, यो गाउँमा न त कुनै सेतो मान्छे आउँछ न त यो गाउँबाट कोहि कालो मान्छे बाहिर नै जान्छन्, छन् त को छन् र गाउँमा लोग्ने मान्छे ? केटाहरू बिहे गर्ने बितिक्कै खाडी मुलुकमा जान्छन्, हुन त त्यो खाड़ी मुलुकमा पनि आएको छ भन्छन् ? जहिले पनि ठुलाबडाहरूले भनेको हुन्छ, ठुलो देशहरूमा यो बिमार आयो भन्यो हाम्रो गाउँमा पनि पस्यो रे ?नपसि कन जबर्दस्ती पस्यो भन्यो, खै के हो के ? घरको ताज़ा खाना, सर-सफ़ाई, पुजा-पाठ, सत्कार-संस्कार गरेपछि यो ठुलो देशबाट आएको कोरोना उतै कोरेर जान्छ, म त आफ्नो काम गर्छु, बुढी भइ सकें, सासु-आमा बोल्दै हुनु हुन्थ्यो एक्कासि लाइन काटियो, कुरा सुन्न बाकि नै थियो । मलाई लाग्यो आमा थाक्नुभयो भनेर !
मैले यताबाट फ़ोन गरे, फोनै उठेन । फोन काटिनुको कारण थाहा पाउन अन्तिम शब्द सुन्ने आशा थियो ! हैजाको बारेमा सोध्ने आशा थियो, नब्बेसालको भुकम्प बारे सोध्ने आशा थियो, कोरोनाको बारेमा सोध्ने आशा थियो तर हजुर-आमाको मोबाइलको ब्याट्रि सकिइएकोले फोन काटिएको रहेछ ।