स्पेनले इरान र इटलीको गल्ती कसरी दोहोर्‍यायो?

जाइल्स ट्रेमलेट,
स्पेनका लागि यो इतिहासकै अन्धकार र नाटकीय क्षण हो। एकै दिनमा ७ सय ५८ जनाको ज्यान गएको छ। कोरोना भाइरसबाट मर्नेको संख्या ४ हजारनजिक पुगेको छ।

यससँगै विश्वव्यापी महामारीको केन्द्र बन्दै गएको छ स्पेन। यो घृणास्पद उपाधि गएको चार महिनामा चार मुलुकले पहिरिसकेका छन्। पहिले चीनको वुहान, त्यसपछि इरान, इटली र स्पेन।

चीन र इरानमा जे भएको थियो, त्यो उसले राम्ररी देखेको थियो। अझ भूमध्यसागरपारि ४ सय माइल पर इटली पनि छ। युरोपभित्रै भाइरस कसरी फैलिरहेको छ भन्ने उदाहरण उसले त्यहाँ पनि राम्ररी नियाल्न सक्थ्यो।

तर, इटलीसँग नजिक भएर स्पेनमा भाइरस फैलिएको होइन। किनभने यी दुई देशबीच स्थल सीमा छैन। जबकि इटलीसँग सीमा जोडिएका फ्रान्स, स्वीट्जरल्यान्ड, अष्ट्रिया र स्लोभेनियाले निकै राम्ररी भाइरसविरुद्ध कदम चालिरहेका छन्।

स्पेनको हालत खराब हुनुको एउटा कारण हो, उचित कदम चाल्न उसले गरेको ढिलाइ। आफूले गरेको तयारी पर्याप्त हुने स्पेनी अधिकारीहरुको सोच थियो।

‘स्पेनमा सिमित मात्रै संक्रमित हुने छन्,’ आपतकालीन चिकित्सा प्रमुख डा. फर्नान्डो साइमनले फेब्रुअरी ९ मा भनेका थिए। ६ हप्ता नबित्दै दैनिक सयौँको मृत्यु भएको सूचना डा. साइमनले नै दिइरहनुपरेको छ। प्रतिव्यक्ति मृतक संख्या इरानको भन्दा तीन गुणा र चीनको भन्दा ४० गुणा बढी पुगिसकेको छ।

फेब्रअरी १९ का दिन स्पेनको भ्यालेन्सिया फुटबल क्लबका २५ सय समर्थक च्याम्पियन्स लिग खेल हेर्न इटालीको बेर्गामो सहर पुगेका थिए। जहाँ उनीहरु एटलान्टा क्लबका ४० हजार समर्थकसँग एउटै रंगशालामा मिसिएर बसे। सो खेललाई बेर्गामोका मेयर जर्जियो गोरीले ‘बम’ को संज्ञा दिएका छन्। किनभने त्यही खेलले इटलीको लोम्बार्डी क्षेत्रभर भाइरस फैलायो।

त्यहीँ पुगेर फर्केका भ्यालेन्सियाका खेलाडी, समर्थक र खेल पत्रकार स्पेनमा सबैभन्दा पहिले बिरामी परेका थिए।

स्पेनभर भाइरस फैलिनुमा सम्भवतः झिनामसिना कारण नै पर्याप्त छन्। फेब्रुअरीको अन्त्य र मार्चको सुरुमा मौसम राम्रो थियो। तापक्रम २० डिग्रीभन्दा माथि थियो। मड्रिडको सडकछेऊका क्याफे र बार हँसिला मानिसहरुले भरिभराउ थिए। उनी आपसमा अंकमाल गर्न, चुम्बन साट्न र केही इन्चको दूरीमा मुख लगेर गफिनमा मस्त थिए।

पूरै देश लक डाउन हुनुभन्दा एक हप्ताअघि मात्र ८ मार्चमा खेलकुद समारोह भइरहेको थियो। महिला दिवस मनाउन ठुल्ठूला सभासम्मेलन भए। त्यसको तीन दिनपछि एट्लेटिको डे मड्रिड क्लबका करिब ३ हजार समर्थक च्याम्पियन्स लिगकको खेल हेर्न लिभरपुल पुगे।

सोसलिस्ट पार्टीका प्रधानमन्त्री पेड्रो सान्चेजले निकै ढिला र हिच्किचाउँदै निर्णय गरे। देशमा अत्यावश्यक स्वास्थ्य सामग्रीको अभाव थियो। भेन्टिलेटर, पर्सनल प्रोटेक्टिभ इक्विपमेन्ट, कोरोना परीक्षण किट अहिले पनि जुटाउने प्रक्रिया चलिरहेको छ। पहिले खलनायकको रुपमा चित्रित चीन अहिले जीवन रक्षक बनेको छ। यी सामग्री र टेस्ट किट उसैले पठाइरहेको छ। तिनै चिनियाँ समुदायले ती सामग्री चीनबाट स्पेन ल्याउन पहल गरेका हुन्, जसले नश्लीय घृणा र आक्रमणबाट बच्न आफ्ना पसल र व्यवसाय बन्द गर्नुपरेको थियो।

स्पेनको स्वास्थ्य प्रणालीमा रहेका कमजोरीहरुलाई पनि भाइरसले छताछुल्ल बनाइदिएको छ। वृद्धवृद्धाको उपचारमा प्रयोग गरिएको नाफाका लागि सञ्चालित निजी केयर होमको अवस्था नाजुक देखियो। २० प्रतिशतसम्म मृत्युदर पुग्दा तिनको थोरै स्टाफ र कमजोर तयारीले धान्न सकेन। अन्ततः सेना पठाइयो, जसले केयरहोममा आफ्नै बेडमा मृत केही मानिस समेत फेला पार्‍यो।

स्पेनको प्राथमिक उपचार प्रणाली अति उत्तम मानिन्छ। तर, वित्तीय संकट यता खर्च घटाइएपछि स्पेनी अस्पतालहरुको अवस्था खराब छ। प्रतिव्यक्ति अस्पताल शय्याको कुरा गर्ने हो भने स्पेनमा अष्ट्रिया वा जर्मनीको एक तिहाइ मात्र छ। तैपनि त्यो बेलायत, न्युजिल्यान्ड वा अमेरिकाभन्दा बढी हो।

अन्ततः प्रधानमन्त्री सान्चेजले संकटकालीन व्यवस्था लागू गर्ने बताए। तर, त्यसलाई लागू गर्न उनलाई २४ घण्टाभन्दा बढी लाग्यो। जुन अवधिमा जनसंख्याको एउटा ठूलो हिस्सा मड्रिड र अन्य सहरबाट देशभर छरिइसकेको थियो।

मड्रिडको क्षेत्रीय सरकारले त्यही साता स्कुल र विश्वविद्यालय बन्द गर्‍यो। तर समन्वयको अभावमा मानिसहरु बार र पार्कमा घुइँचो लाग्न थाले। सहरका मानिसहरु समुद्री किनाराका घरमा सर्न थाले।
१४ मार्चदेखि लक डाउन सुरु भयो। प्रहरीले जरिबाना पनि तिराउन थाल्यो। मानिसहरुले पनि सडकमा निस्किनेहरुलाई बार्दलीमा निस्केर अण्डा बर्साए।

यसको परिणामस्वरुप मृत्युदर चाँडै नै घट्ने अपेक्षा गरिएको छ। त्यसपछि मन्त्रीहरु लक डाउन खुकुलो पार्नुपर्छ भन्न थाल्नेछन्। ११ अप्रिलमा एक महिने क्वारन्टिन अवधि पूरा हुनेछ। तैपनि सामान्य अवस्थामा फर्किने अपेक्षा कसैले राखेको छैन।

यो सबै सकिँदा स्पेनको हालत एकदमै नाजुक हुनेछ। सन् २००८ को आर्थिक संकटपछि बेरोजगारी दर २७ प्रतिशत पुगेको थियो। सार्वजनिक ऋण बढेको थियो र युरोपभरमै सबैभन्दा गम्भीर आर्थिक मन्दी बेहोरेको थियो। यस वर्षपनि लगभग त्यस्तै हुनेछ।

समस्या समाधानका लागि त्यसबेला खर्च कटौती, रोजगार कटौती र तलब कटौती गरिएको थियो। यसपटक भने त्यस्ता उपायहरुलाई मानिसले सहने छैनन्।

अर्थशास्त्री टोनी रोल्दान स्पेनलाई युरोपियन स्ट्याबलिटी मेकानिज्मबाट २ सय अर्ब युरो ऋण आवश्यक पर्ने बताएका छन्।

अहिलेका लागि भने स्पेनले भाइरसलाई पराजित गर्नुपर्ने छ। यो क्षण निकै नै कष्टकर छ, तर, अझै खराब अवस्था नआउला भन्न सकिन्न।

-द गार्जियनबाट

तश्विर- मड्रिडको अस्थायी सैन्य अस्पतालमा तयार पारिएक बेड