राल्फ लरेनले बनाउन थाल्यो मास्क र गाउन

चैत १५, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी फेशन कम्पनी राल्फ लरेनले मेडिकल मास्क र गाउन बनाउने भएको छ ।

कोरोना भाइरसको महामारीविरुद्धको विश्वव्यापी लडाइलाई टेवा दिन यस्तो कदम चाल्ने यो पछिल्लो डिजाइनर ब्रान्ड हो । कम्पनीको परोपकारी एकाइ राल्फ लरेन कर्पोरेट फाउन्डेशनले बिहीवार यस्तो घोषणा गरेको हो ।

कम्पनीले अमेरिकामा २ लाख ५० हजार थान मास्क र २५ हजार थान आइसोलेशन गाउन बनाउन थालेको छ । कोरोना विरुद्दको लडाईमा मद्दत गर्न कम्पनीले १ करोड डलर दान पनि दिंदैछ ।

विश्वभर कोरोना भाइरसको महामरी फैलिएसँगै मेडिकल सामाग्रीको माग चुलिएको छ । यस्तोमा अन्य फेशन ब्रान्डले पनि तत्कालै मास्क, गाउनलगायत मेडिकल वेयर बनाउने प्रतिबद्धता गरेका छन् । बहुराष्ट्रिय कार निर्माता कम्पनीहरुले भेन्टिलेटर बनाउन खोज्दैं छन् ।

क्यानडेली लक्जरी कोट ब्रान्ड क्यानडा गूजले पनि स्वास्थ्यकर्मीलाई नि : शुल्क वितरण गर्न मेडिकल गाउन बनाउने घोषणा गरेको थियो । अमेरिकी बहुराष्ट्रिय क्लोदिङ कम्पनी ग्यापले पनि प्रोटेक्टिभ सुट बनाउन कारखाना आफ्नो प्रयोग गर्ने बताएको छ ।

यसै महीनाको शुरुमा फ्रान्सेली फेशन कम्पनी एलभीएमएचले पनि ह्यान्ड स्यानीटाइजर बनाउने बताएको थियो । एजेन्सी