अमेरिकामा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या दुई दिनमै दोब्बर

चैत्र १६ । अमेरिका कोरोना भाइरस (कोभिड-१९)को वैश्विक इपिसेन्टर बन्न पुगेको मेरिल्याण्डस्थित जोन्स हप्किन्स विश्वविद्यालयको तथ्यांकले देखाएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या पछिल्ला केही दिनयता अकल्पनीय रुपले बढिरहेको छ । भाइरस संक्रमणको दर अप्रत्यासित रुपले बढ्न थालेसंगै विश्व स्वास्थ्य संगठन (डव्लुएचओ)ले समेत अमेरिका कोरोना भाइरसको नयाँ इपिसेन्टर बन्न सक्ने चेतावनी दिएको थियो ।

आइतबार साँझसम्म अमेरिकामा एकलाख २३ हजार भन्दा बढी संक्रमित केसहरु भेटिएको पुष्टि भैसकेको छ । यो संख्या कोरोना संक्रमण फैलिएका विश्वका अन्य कुनैपनि देशको भन्दा अत्याधिक बढी हो । अमेरिकामा कोरोना संक्रमबाट अहिलेसम्म मृत्यु हुनेको संख्या पनि दुई हजार दुई सय भन्दा बढी पुगिसकेको छ ।

हप्किन्स विश्वविद्यालयले कोविड-१९ले महामारीको रुप लिन थालेदेखि नै गहिरोसंग नियालिरहेको छ । क्षण-क्षणमा तथ्यांकहरु बाहिर ल्याइरहेको छ । विश्वविद्यालयको तथ्यांकमा गत शनिबारसम्ममा फ्लु जस्तै रोगबाट दुई हजार १० जना मरेको उल्लेख गरिएको छ ।

आइतबारसम्मको तथ्यांकले अमेरिकामा दुई दिनमै मृतकहरुको संख्या दोब्बर भएको देखाएको छ ।

कोरोना भाइरस केस रजिष्टर्ड गरिएको संख्यामा पनि अमेरिकाले चीनलाई पछि परिसकेको छ । यो संख्या चीनको तुलनामा १५० प्रतिशत भन्दा बढी देखिन आएको छ । अहिलेसम्म एकलाख भन्दा बढी संक्रमित हुने अमेरिका मात्रै एक्लो देश बनेको छ । त्यहाँ एक लाख २३ हजार ७७६ रजिष्टर्ड संक्रमितहरु भेटिएका छन् ।

अमेरिकाका सबै ५० वटै राज्यहरु र डिस्ट्रिक्ट अफ कोलम्बियामा यो भाइरस फैलिएको छ । यसमध्ये न्युयोर्क शहर सबैभन्दा बढी संक्रमित छ । अमेरिकाको सबैभन्दा ठूलो शहर न्युयोर्कमा मर्नेहरुको संख्या ५१७ पुगेको छ ।

न्युयोर्कको अवस्था नाजुक बन्दै जाँदा त्यहाँका गभर्नर एन्ड्रयु कुओमोले त्यहाँ हुने राष्ट्रपतिय प्राइमरी निर्वाचनलाई जुन महिनासम्मका लागि स्थगित गर्न आदेश दिएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले न्युयोर्क, न्युजर्सी र कनेक्टिकट राज्यहरुमा क्वारनटाइन लागू गर्नसक्ने जनाएका छन् ।

यस महामारीले अमेरिकी सेयर बजार पनि तिब्र गतिले ओरालो लाग्दै लगभग कोल्याप्सको अवस्थामा पुगेको र आर्थिक मन्दी संघारमै आइसकेको समाचारहरु आइरहेका छन् । अर्थतन्त्र डामाडोलको अवस्थामा पुगेको र बेरोजगारी अकासिएर ३० लाख पुगेको बताइएको छ ।

संक्रमित केस अमेरिकामा बढी भएपनि महामारीबाट मर्नेहरुको संख्या भने यूरोपमा बढी छ । यूरोपमा यो संख्या झण्डै दुइतिहाई छ । महामारीबाट मर्ने कूल ३० हजारमध्ये यूरोपमा मात्रै २० हजार भन्दा बढी छ । त्यसमध्ये इटलीमा मात्रै १० हजार भन्दा बढीको ज्यान गैसकेको छ । एजेन्सी