कांग्रेस महाधिवेशनका कुरा

मुलुकै पुरानो पार्टी कांग्रेस महाधिवेशनको मुखमा छ । फागुन २१ देखि २४ सम्म काठमाडौंमा यसको महाधिवेशन हुँदैछ । संविधान बनेपछि आर्थिक क्रान्तिको अपेक्षामा रहेको मुलुकबासीका लागि कांग्रेस पार्टीको अधिवेशनले महत्वपूर्ण अर्थ राख्छ । महाधिवेशन एउटा जीवन्त पार्टीको सबैभन्दा महत्वपूर्ण अंग हो । यसले नयाँ नेतृत्व र नीति निर्धारण गर्छ । देशकै ठूलो पार्टीको भावी नेतृत्व कस्तो हुने हो र नीति कस्तो लिने हो भन्ने विषय जनचासोको हुनु स्वाभाविक छ । दुर्भाग्य के छ भने लोकतन्त्र पक्षधर यो पार्टी खासमा नीतिविहीन जस्तै छ । मुलुकलाई आगामी दिनमा कसरी अगाडि बढाउने भन्ने प्रष्ट खाका कोरेर त्यसैलाई पार्टीको मूल ध्येय बनाउनुपर्ने बेला कांग्रेस नेताहरु आपसी आरोप प्रत्यारोपमा व्यस्त छन् । त्यसको एउटै कारण पार्टीको नीतिसँग भन्दा नेतृत्वसँग मात्रै उनीहरुले सरोकार राखेका छन् । नेतृत्व आफूले पाउनुपर्ने दाबीबाहेक कांग्रेसका शीर्ष नेताहरु सभापति सुशील कोइराला, वरिष्ठ नेता शेरबहादुर देउवा र रामचन्द्र पौडेलले केही गर्न सकेका छैनन् । महाधिवेशनपछि पार्टीलाई यसरी लैजाने वा उसरी लैजाने भनेर उनीहरुले कुनै प्रष्ट धारणा राखेका छैनन् बरु यस कारण म नेतृत्वमा हुनुपर्छ भन्ने एकोहोरो रोइलोमात्रै मच्चाइरहेका छन् । महाधिवेशन लागेको कुरा पनि उनीहरुका दन्तबझानबाट मात्रै कार्यकर्ता र जनताले थाहा पाएका छन् । नयाँ विचारको बहसका कारण महाधिवेशन लागेको अनुभूत जनताले गर्न पाएका छैनन् ।
कांग्रेसलाई पुरातत्व हुनबाट जोगाउने हो भने यसको नेतृत्व परिवर्तनको मात्रै खास अर्थ छैन । चाहे कोइराला फेरि सभापति बनून वा शेरबहादुर या रामचन्द्र पौडेल नै त्यसले खास अर्थ राख्दैन । संस्थापक नेता बिपी कोइराला कोइराला समाजवादका पक्षधर थिए । हाला कि यो पार्टी अहिले आएर पुँजीवादको पक्षपोषक भइरहेको छ । नेपालमा अब पुँजीवाद आवश्यक छ भन्ने ठहर गरेर भन्दा पनि नेताहरुको लहड र सनककै भरमा राष्ट्रिय सम्पतिहरुको निजीकरण गरेर पार्टीले पुँजीवाद धार समात्यो । यो पार्टीको सरकार हुँदा राष्ट्रिय उद्योगहरु निजीकरण भए । अन्ततः मुलुकमा औद्योगिकरण फस्टाएन बरु व्यापारीकरण मौलायो । जनताको दैनिक जनजीवन कष्टकर बन्यो । मुलुक आत्मनिर्भर बन्नुपर्नेरमा भारत निर्भर भइरह्यो । राष्ट्रिय औद्योगिकरण हुन सकेन । न त विदेशी पुँजी नै नेपाल भित्रियो । खासमा संसारका पुँजीवादी देशहरुले पनि धनी र गरिबको खाडल बढ्दै गएको र निजी क्षेत्रको मात्रै भर पर्दा जनता महँगीको मारमा पर्ने गरेको अनुभव पाइसकेका छन् । राज्यहरु कल्याणकारी हुनुपर्छ भन्ने बोध पुँजीवादका नमुना देशहरु अमेरिका र बेलायतले गरिसकेका छन् । कांग्रेसमा यो तत्वबोध भएको छैन । हुन त यस्ता नीतिगत बहस र छलफल भन्ने नै हुँदैन कांग्रेसमा । केन्द्रीय समितिको बैठकधरि नबस्ने सभापतिले बोलेका भरमा मात्र काम हुने पार्टीमा के कति सुधार जरुरी छ भनेर भनिसाध्य नै छैन । कुनै बेला नीतिबाट चल्ने यो पार्टी नेताहरुबाट चल्न थाल्यो । र हुँदाहुँदा नाताबाट चल्न थाल्यो । कुनै बेला अनलिमिटेड पार्टी प्राइभेट लिमिटेड बन्यो । कांग्रेसको नीतिगत प्रष्टताले मुलुकै भविष्य निर्धारण गर्ने भएकाले पार्टीलाई अग्रगामीबाटोमा हिँडाउन कार्यकर्ताले घच्घच्याउनुपर्ने बेला हो यो ।