सरकारका निर्णय, लोकतन्त्रप्रति खतरनाक : बिष्णु सुवेदी नेपाली काँग्रेशका महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक

सर

नेपालय
नेपाली काँग्रेशका महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदीले नेपाल सरकारले अध्यादेशमार्फत राजनीतिक दल त्यागसम्बन्धी कानून संशोधन  गरी राजनीतिक दलसम्बन्धी विद्यमान ऐनमा पार्टी फुटाउनका लागि सहज बनाएको र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयले लोकतन्त्र प्रति खतरा रहेको बताँएका छन् ।

नेपाली काँग्रेशका महासमिति सदस्य तथा जनसम्पर्क समिति अमेरिकाका पूर्व संयोजक बिष्णु सुवेदी द्धारा जारी प्रेस विज्ञप्तिमा निम्न अनुसार रहेको छ ।

विश्वभर छरिएर रहनु भएका सम्पूर्ण दाजुभाई दिदी बहिनीहरुमा हार्दिक नमस्कार तथा जय नेपाल 

नेकपाको सरकारले बहुमतको दम्भ देखाउँदै राजनैतिक पार्टी बिभाजनलाई सहज तुल्याउन र संवैधानिक परिषदलाई नियन्त्रणमा राख्नेगरी गरेको विवादास्पद निर्णयप्रति हाम्रो गम्भिर ध्यानाकर्षण भएको छ । यसले लोकतान्त्रिक मुल्य र मान्यतामा गम्भिर प्रश्न चिन्ह खडा गरेको छ । सरकारले ल्याएका अध्यादेश प्रतिगमन उन्मुख रहेको प्रष्टै देखिन्छ । सरकारले गरेको निर्णय केही मिनेटमै राष्ट्रपतिले लालमोहोर लगाउनुले त्यसलाई थप पुष्टि गरेको छ । 

आम नेपाली जनताको त्याग र तपस्याबाट जारी भएको संबिधानले राजनीतिक दलको स्थायित्व बारे स्पष्ट लेखेको अवस्था छ । यस्तै प्रतिपक्षी दलबिनै संवैधानिक परिषदलाई नियन्त्रणमा राख्न खोज्नुले लोकतन्त्र खतरा रहेको संकेतहरु देखाईरहेको छ ।

अहिले हामी कोरोना भाइरसको महामारीबाट गुज्रिरहेका छौं, यस्तो बिषम परिस्थितिमा सरकार राहत र कोरोना भाइरस नियन्त्रणका लागि केन्द्रित हुनुपर्नेमा लोकतन्त्रनै खतरामा पर्नेगरी प्रस्तुत हुनु र बहुमतको दम्भ देखाउनुले सरकार लोकतन्त्रप्रति प्रतिवद्ध छैन्, भन्ने संकेत गरेको छ । नागरिकको जीवन रक्षा गर्नुपर्ने यो जटिल परिस्थितिमा सरकार राजनीतिक चलखेलमा लाग्नुले हामीमा शंका उत्पन्न भएको छ । सत्ताको उन्माद देखाउनु नेपाली राजनीतिक इतिहासमै लज्जाको बिषय भएको छ ।
लोकतन्त्रका लागि आज सम्म भएका ठूलठूला आन्दोलन र त्याग तपस्यालाई खिल्ली उडाउँदै नेकपाको सरकारले गरेका निर्णयलाई तत्काल फिर्ता गर्न हामी बिनम्रतापूर्वक आग्रह गर्दछौं । यदी हाम्रो आग्रहलाई अबमुल्यन गरिएमा लोकतन्त्रको रक्षाका लागि हामी जस्तो सुकै आन्दोलन समेत गर्न तयार रहेको चेतावनी दिन चाहन्छौं ।
लोकतन्त्रका लागि हामी सँधै कटिवद्ध छौं । जय नेपाल

बिष्णु सुवेदी
महासमिति सदस्य तथा
पूर्व संयोजक, जनसम्पर्क समिति अमेरिका।