यसरी ढल्यो मेरो यो औचित्यहीन पुरूष अहम्

कृसु क्षेत्री

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना पछि लकडाउनमा बसेको एक महिनाभन्दा बढी भैसक्यो । यसले हाम्रो दैनिक जनजीवनमा हाम्रो खानपान रहनसहनमा ठूलो असर पारेको छ । हजुरहरूको जीवनमा के कस्तो असर पर्यो कुन्नी तर मलाई पारेको असर शेयर गर्न चाहान्छु ।

विहा गरेको सत्र वर्ष लाग्नलाग्दा पत्नीलाई सन्तान नौ महिना गर्भमा राखेकोमा दया गरेको छु रैछु मैले । विहानै बेड टी, छोराहरूलाई स्कूलको तयारी आफूलाई अफिस जान तयारी बेलुकीको खाना बेडमा प्रेमिकाको भूमिका यस्तै सोच्दो रहेछु पत्नीको काम। कमाई दिएकै छु, परिवारलाई पुराइदिएकै छु अरू के चाहियो र भन्दै मनमौजी जीवन चलेको रहेछ तर कहाँबाट आइलाग्यो यो कोरोना अनि हुनुपर्यो घरमै लकडाउन । अनि मेरा सबै सोच मेरा सबै पुरूष अहमहरू भुइचालोमा धरहरा ढलेझैं ढले गर्लम्म ।

 

बल्ल पो थाहा भो बिहानै बेडमै पिउनु पर्ने चिया पकाउन पानी चीनी चियापत्ती दूध चाहिँदो रहेछ । खानुभन्दा अगाडि र खाईसके पछि माझ्नु पनि पर्दो रहेछ । माझ्न साबुन मस्कौटो पनि चाहिँदो रहेछ ।

छोराहरूलाई स्कूल पठाउनु मात्र कहाँ रहेछ ? उनीहरूले स्कूलमा लगाउने कपडा जुत्ता मोजा धुने आइरन गर्ने हरेक दिन । उनीहरूलाई मन पर्ने ब्रेक फास्ट लन्च र डिनर तयार गर्ने । उनीहरूको मनस्थिति हेरेर व्यवहार गर्नु पर्ने । सासूको आमाजूको स्वास्थ्य ख़्याल गर्नु पर्ने, विदेशमा रहेका दिदीबहिनी भाइको हरदम चिन्ता गर्नु पर्ने, माइतीमा बुवाको प्रेशर सुगर अनि आमाको थाईरायड सम्मको ध्यान दिनु पर्ने ।

मुख्य काम दिनभरि गफ गरेर कम्प्यूटरमा काम गरेर थकित भएको बहाना गर्ने म जस्तो पतिको घर आगमन अघि नै खुशीका लागि तयारी गर्नु पर्ने । कति हो रहेछ कष्ट पनि ।

 

मैले लकडाउनबाट नै जानें घरमा थालबटुका हुँदारहेछन् अनि कहाँ राखिँदो रहेछ । डाडु पुन्यू कवितामा मात्र हुन्न रहेछ साँच्चिकै जीवनमा पनि हुँदो रहेछ । तरकारी आफैं पाक्दो रहेछन् केलाउने काटकूट गर्नु पर्ने, मर मसला हुने रैछन् प्याज़ काट्दा आँशु पनि आउँदो रैछ छुरीले चोट पनि लाग्दो रहेछ । तरकारी पकाउँदा नुन तेल मसलाको निकै सन्तुलन पनि हुँदो रहेछ ।

घर हरेक दिन बढार्नु पर्ने पोछा लाउनु पर्ने हामीले लगाउने लुगा धुनु पर्ने, फोहोर सफा गर्ने फाल्नु पर्ने, पानी चढाउनु पर्ने ग्याँस, बिजुली पानी टेलिफोनको बिल तिर्नु पर्ने फ्रिजलाई भरिभराउ र व्यवस्थित गर्नु पर्ने। सजिलो हुँदैन रहेछ ।

छिमेकीका मरिमराउ पूजा सबैमा घरबाट प्रतिनिधित्व पनि भएकै रहेछ । सबैभन्दा गारो त बूढाका गनगन अफिसका टेन्सन सुनिदिनु पर्ने अनि उस्तै व्यवहार गर्नु पर्ने, छोराहरूका होमवर्क पनि गर्नु अनि बूढाको मनपसन्द खाना कपडा र टीभी प्रोग्राममा रमाउनु पर्ने । आफू स्वस्थ होस् नहोस् हरेक दिन प्रेमिकाको रूपमा बेडमा साथ दिनु पर्ने । भित्र पीडा लुकाएर हाँस्नु पर्ने बाहिरबाहिर । छोराहरूलाई उनीहरूकै उमेर अनुसार सोचेर संस्कार सिकाउनु पर्ने ।

ओ हो अलिकति कमाएको भरमा शासन गर्न खोज्ने मैले त केही गरेकै रैनछ । जानेकै केही रहेनछ । ढल्यो मेरो यो औचित्यहीन पुरूष अहम् । क्षमा मागें बूढी । धन्यवाद कोरोना । धन्यवाद लकडाउन ।

विश्वमा महामारीको रूपमा फैलिएको कोरोना पछि लकडाउनमा बसेको एक महिनाभन्दा बढी भैसक्यो । यसले हाम्रो दैनिक जनजीवनमा हाम्रो…

Posted by Krisu Chhetri on Thursday, April 30, 2020