कोरोनाको कहर

प्रवीण भट्टराई
————

प्रिय छोरी,
एता पनि उस्तै छ
कोरोनाको कहर
के रात के दिन
एकै देखिन्छ शहर
मलाई थाहा छ
तिम्रो शहरको
कहिल्यै नसुत्ने रहर
केहि दिनको बिदामा छ ।
अनि
तिम्रो र मेरो दुईटै शहरले
एकोहोरो
मौनता पस्किरहेका छन्
आफू एक्लै एक्लै
बिस्तारै लस्किरहेको छन्
मेरो छेउमा आएर
शहरले मलाई जबरजस्त
जिस्काईरहेको छ
तिमीलाई पनि सोध्दै होला
घुम्न जाने हैन ?

छोरी,
हतास नहुनु
शहर बाँच्छ हाम्रै भोलिलाई
रहर मर्नु हुन्न मनहरुलाई
लहर बिग्रनु हुन्न पानीलाई
हतास मनहरूलाई
बाँधेर राख्नुपर्छ मायाले
हराएको निन्द्रालाई साँचेर राख्नुपर्छ
रहरले शहरलाई
सुनसान बन्न दिनुहुन्न
किनकी
हामीलाई पनि चाहिन्छ
जिउँदो शहर
शहरलाई पनि हामी चाहिन्छ
हाँसेर बाँचेको ।
—–

श्रीजङ्गा-४, तेल्लोक, ताप्लेजुग
हाल: डेजर्ट रोज, दोहा, कतार।