जुम मिटिङ्ग

प्रवीण भट्टराई

आजकल चारैतिर
कोरोनाको कहर छ
के शहर के गाँउ
जताततै बन्दाबन्दी छ
बाँच्ने रहर नपुगेका
मान्छेहरुलाई
मरिएला भन्ने डर छ
अनि
घर भित्रै बसेर पनि
मानिसलाई आफ्नै स्क्रिनमा
आफ्नै अनुहार हेर्ने
अजब गज्जबको रहर छ
अनि त्यहाँ
जीवन पनि छ रे
जगत पनि छ रे

सोधी खोजी गर्दा पत्ता लाग्यो
त्यहाँ भित्र जुम मिटिङ्ग छ रे।

सबैतिर आज मिटिङ्ग हुने
चोक चोकमा हल्लै हल्ला छ
संजाल पनि यसैले रंगिएको छ
सुने अनुसार
न एक आपसमा
कसैसँग कुनै सल्लाह छ
न एजेण्डा छ न बिज्ञता छ
जुम मिटिङ्गको
मिति समय सहितको
सबैको मोबाईलको स्क्रिनमा
एउटा गोश्वारा निम्तो छ
अनि बोल्नेहरूको
भागबण्डासहितको
एउटा लामो दुई पाने
बिचित्रको फेहरिस्त छ।

जिज्ञासा लागेर
निम्तालु मध्येका
एक सज्जनलाई मैले सोधे
भरै के छ मित्र ?
उस्ले भन्यो मलाई
भ्याई नभ्याई छ यार
बिहान स्टारबक्स पिउदै
अमेरिकन टोलीसँग
अमेरिकन टोनमा
बोली मिलाउँदै
दिउँसो ब्रन्च सँगै
बिट्रिश टोलीसँग
लोली मिलाउँदै
अपरान्ह हिमाली समूहसँग
अर्गानिक चियाको चुस्की लिंदै
अनि छिमेकीसँग
साँझ डिनरसहित
झुम बराबर झुम
छासमिस टोलीसँग
सिटेट मिटिङ्ग छ
राती सपनासँग अन्तरिक्षमा
मून टोलीसँग
स्लिपिङ्ग मिटिङ्ग छ
भोलि झुम भएर
को सँग के मिटिङ्ग
कुनै टुगो छैन यार
अनि भन म कति बिजि छु ?

फेरी तिमीलाई थाहा छ
यो बेला
नयाँ नयाँ समूह आएका छन
कहिले नाम नसुनेका
कहिले देखा नपरेका
एक पछि अर्को समूहको
निम्ता आएको छ
ठण्डरल्याण्ड पूर्वबाट
सेल्फी समाज सेवी समूह
अण्डरल्याण्ड पश्चिमबाट
रिमोट-अभियन्ता समूह
अपरल्याण्ड सुदुर पूर्वबाट
कम्युनिटी हिरो समूह
उपरल्याण्ड बीचपूर्वबाट
परिकल्पनाकार समूह
गर्ल्यामगुर्लुमल्याण्ड मध्य पश्चिमबाट
जोरजुलुम समूह
खोलावारीबाट
फोटोकारिता समूह
खोला पारिबाट
भ्यूट्यूब मण्डली
अब तिमी नै अनुमान गर
म कति बिजि छु ।

तिमी भन्थ्यौ नि
पहिला मलाई
म सडक छाप हुँ
तोरी लाहुरे हुँ
अब अहिले तिमीले मलाई
नचाहेर पनि हेर्नु पर्छ
टेलिभिजनका स्क्रिनहरुमा
फेशबुकका वालहरुमा
चश्मा लाएर भए पनि पढ्नु पर्छ
अनलाईन अनि अफलाईन
एभोवलाईन अनि अन्डरलाईन
अखबारका पानाहरुमा
किनकी म कोरोनाले जन्माएको
ठण्डरल्याण्ड उत्तरबाट
सेल्फी समाजसेवी समूहको
संस्थापक अध्यक्ष हुँ
अण्डरल्याण्ड दक्षिणबाट
रिमोट-अभियन्ता समूहको
संस्थापक उपाध्यक्ष हुँ
अपरल्याण्ड पूर्वबाट
कम्युनिटी हिरो समूहको
संस्थापक महासचिव हुँ
उपरल्याण्ड पश्चिमबाट
परिकल्पनाकार समूहको
संस्थापक उपमहासचिव हुँ
अनि
गर्ल्यामगुर्लुमल्याण्ड दक्षिणबाट
जोरजुलुम समूहको
संस्थापक कोषाध्यक्ष हुँ
खोलावारीको डिलबाट
फोटोकारिता समूहको
संस्थापक निकोन हुँ
खोला पारिबाट
भ्यूट्यूब मण्डलीको
चटके सदस्य हुँ
उनि अरु पनि के के भन्दै थिए
मेरो जुम जोडेको सेलफोनको
मसला सकिएछ
मैले उनलाई
त्यस पछि फेरि
सुन्न र देख्न परेन जुममा पनि।

डेजर्ट रोज अपार्टमेन्ट, दोहा—