आमा तिमी अजम्मरी छौ : प्रदीप परियार थापा

आमा, अलविदा !
आमा, तिम्रो पार्थिव शरीरको देह लीला समाप्त भए पनि तिमी अजम्बरी छौ। तिम्रो आत्मा, तिम्रो माया, करूणा र तिम्रो आशिर्वाद हामीसंगै छ। आमा, तिमी मेरो जीवन छँदासम्म मेरो ढुकढुकीमा बाँच्नेछौ।तिम्रो कोखमा मेरो भ्रूण बस्दा तिमीले मेरो रक्तनलीमा सिंचेको जीवनबुटी लिएर म तिम्रो, बाबाको र भगवानले दिएको अमूल्य जीवन जिउने मन्त्र जप्दै तिम्रै पदचाप लिएर हिंडीरहेकोछु र हिंडिरहनेछु आमा। तिमी हुँदा म तिम्रो दिलमा बाँचीरहेको हुन्थें, अब तिमी मेरो आँखाबाट यो संसार देख्नेछौ आमा। मेरो मुटुको ढुकढुकी बढ्दा ठान्नेछु तिम्रो स्वास पनि थपेर म जिईरहेछु आमा। आमा, तिमी मेरो जीवनमा रूपान्तरण भएर जीवित छौ, म तिम्रै प्रतिछाँया हूँ। आमा, तिम्रो देहको अवसानको शोकमा मन गह्रुंगो हुँदै गर्दा म तिम्रो झण्डै सताब्दी नजिक पुगेर भोगेको सार्थक जीवनको जयगान गर्न चाहन्छु। तिम्रो सादगी, निश्वार्थ एवं समर्पणपूर्ण जीवनगाथाको म शंखघोष गर्न चाहन्छु। तिमीले दिएको अजम्बरी माया, को खा को खा गर्दै तिमीले म थोते हुँदा आफ्नै मुखबाट परेवा र ढुकुरले झैं खुवाएको म बचेरो आज तिम्रै संजिवनीले जीवित छु र त्यसैले तिम्रो अजम्बरी जीवनगाथाको उत्सव मनाउन चाहन्छु। आमा, तिमी महान हौ, तिम्रो करूणाको पूजा म हरदम जीवनपर्यन्त गरिरहनेछु।🙏💞😭🥰😍😘🙏

सबै प्रियजनहरूलाई यहाँहरूको प्रार्थना, प्रेम र आशिर्वादको लागि म र हाम्रो परिवार हार्दिक आभारी छौं।🙏💞😭🙏
हाम्री आमा तिली थापा मगरको ८७ वर्षको उमेरमा आज मे ११ तारिख नेपाली समयअनुसार (मे १०) बेलुकी ५:३० बजे निधन भयो। आमालाई आजै काली गण्डकीको किनार जुन हाम्रो घर मुन्तिर ५०० मिटर दुरीमा अन्तिम दाहसंस्कार सम्पन्न गरिएकोछ। सन् १९३३ (बिसं. १९९०) मा जन्मिनु भएकी हाम्री आमाले मासुमंस कहिल्यै खानु भएन, शुद्ध शाकाहारी हुनुहुन्थ्यो। रक्सी, चुरोट चैं सानै उमेरदेखि जीवनपर्यन्त खानुभयो। जीवनको अन्तिम पलहरूमा आमाले हामीले जति कर गर्दै पनि ३३ दिनसम्म केही नखाई देहत्याग गर्नु भयो। किन त्यसो गर्नु भयो होला? आमाको निधन कोरोना महारोगको चिन्ताले भएको हुन सक्ने अहिलेको परिस्थितिले देखायो। मैले गत फरवरी ३ मा मेरो ५० औं वर्षको जन्मदिवस आमाको काखमा गुल्मि जिल्लाको सत्यवती गाउँपालिका ठूलो लुम्पेक, पाहादीस्थित हाम्रो पुर्ख्यौली घरमा पुगेर मनाएको थिएँ। तेतिबेला आमा जाती नै हुनुहुन्थ्यो तर यसबिच, हामी हाम्रो परिवारका सबै सदस्यहरू काठमांडू, युके, हंगकंग, सिंगापुर, कोरिया, ईण्डिया र अमेरिकामा लकडाउनमा फँस्यौं। आमासंगै बिसौं वर्षदेखि गाउँमा रहेर आमाको स्याहारसुसार गरेका कान्छो भाई खड्गवीर (Khadgabir Thapa) पनि छोरी चोफिनाको लुपस रोगको उपचारको लागि मार्च र अप्रिल महिना पाटन अस्पताल, ललितपुरमा कुरूवा बस्नु पर्यो।

यसबिच, कान्छी बुहारी हिमकुमारी पनि हाम्री आमाको देखभाल गर्न छोरो र उनीकी आमालाई राखेर काठमांडूमा भाईजीलाई साथ दिन आईन्। यसैबिच, नेपालमा पनि कोरोनाको लकडाउन शुरू भयो। हाम्री आमालाई यो महामारीको लकडाउनले गर्दा उनका हामी सबै दरसन्तान अब गाउँ फर्किन पाउँदैनौं भन्ने लाग्यो होला र ईन्तु न चिन्तु भै खान खान छोड्नु भो। भाई खड्ग ललितपुर सिडियो कार्यालयको गाउँ जान पाउने अनुमति पत्र लिएर अप्रिल २१ तारिख छोरीलाई अस्पतालमा बुहारीका साथ छोडेर एक्लै गाउँ फर्किए तर २२-२३ दिनसम्म नखाएकोले तेतिन्जेल आमाको आन्द्रा सुकिसकेको थियो । हामीले भाई पुगेपछि आमाले खुशिएर खानुहुनेछ भनेर अझै झीनो आशा राखेका थियौं। पारिवारिक र बाह्य डाक्टरहरूको सल्लाहनुसार आमालाई भिटामिन र अन्य औषधि खुवाउने काम पनि भयो तर आमाको भोक जागेन। अस्ति मे ९ तारिख बेलुकी मैले फेसटाईममा आमालाई रूँदै बोलाएँ र दुईतीन दिनदेखि बेहोश र पानी समेत नपिई मृत्यूसंग लडीरहनु भएकी आमाले एक्कासी आँखा खोलिन् र मसंग बोल्न खोजिन्। भाईजीले चम्चाले पानी पिलाउन खोज्दा दुईतीन चमच पानी पनि पिईदिईन्। म उत्साहित र धन्य भएँ तर त्यो खुशी चौबीस घण्टा बित्दानबित्दै आँशु र बिरहमा परिणत भयो, आमाले देहत्याग गर्नुभो। भाईजीले मेसेन्जरमा टेक्स लेखे- “Aamale xodnubho”, लगत्तै मेसेन्जरमा बोल्न खोजेको यस्तो रूवाबासीमा केही मिनेटमै बोल्न सकिएन। पछि छोरो देवदूत (Devdoot Thapa) र नीरू (Niru Magar) बैनीले आमाको मृत शरीर फेसबुक मेसेन्जर भिडियोबाट देखाईदिए। मैले र विष्णुले मन थाम्न सकेनौं, उताका सबैको रूवाबासी सुनेर हामी थप भावविह्वल भयौं। यसरी आमालाई अन्तिम विदाई गर्नु विवस भयौं।🙏😭🙏


कोरोना महामारीकै लकडाउनको कारण म र मेरी अर्द्धांगिनी डा. विष्णुमाया परियार (Bishnu Maya Pariyar) (साँईली बुहारी) र नातिनी पवित्रा अमेरिकामा रहन बाध्य भयौं भने युकेमा माईला दाजू झकवीर थापा (Jhagbir Thapa) र भाउजू साथै तीनवटी दिदीहरू हरिकली, भिमा र छबीमाया (Chhabi Maya Thapa) साथै भिनाजूहरू र उहाँहरूको परिवार युकेमा लकडाउनमा पर्नु भयो। उता ठूली भाउजू हस्तकुमारी थापा (ठूल्दाई सिंगापुर पुलिस गोर्खा कन्टिनजेन्टका पूर्व ईन्स्पेकटर स्व. भक्तवीर थापा), साँईला बाबा ब्रिटिश गोर्खाली सेनाका पूर्व Hon. क्या.भद्रे थापा (Bhadre Thapa) र कान्छा बाबा सिंगापुर पुलिस गोर्खा कन्टिजेण्टका पूर्व सेना झबे थापा बाबाहरूको परिवार काठमाण्डूमा लकडाउनमा परे भने अन्य भतिजा-भतिजी, नाति-नतिनाहरू सिंगापुर, हंगकंग, कोरिया र भारतमा लकडाउनमा परे। हे भगवान! के यस्तो बिपद आईलाग्यो।🙏😭🙏
हाम्रो बाबा गाउँको पहिलो प्रधानपन्च, पूर्व जिपंस एवं बर्मा स्टार लगायत आधा दर्जन बहादुरी र सर्भिस मेडल प्राप्त गरेका दोश्रो विश्व युद्धमा ब्रिटिश-ईण्डिया गोर्खाली सेनाका योद्धा, सिंगापुर पुलिस फोर्स गोर्खा कन्टिनजेण्टका संस्थापन वर्षका पूर्व ईन्स्पेक्टर जितबहादुर थापा मगरले एउटै आमाका दुई वटी छोरीहरू बिहे गरेका थिए- हाम्री ठूली आमा जमनी राहादी मगर र हाम्री कान्छी आमा तिली राहादी मगर । बाबा र ठूली आमाको उहिल्यै स्वर्गवास भैसकेकोछ। यि दुई आमाहरूबाट हामी चार दाजूभाई र तीन दिदीबहिनीहरूको जन्म भएको थियो। यो कहानी तलको मेरो पुरानो पोष्ट “नचाहेको सन्तान !” मा सविस्तार पढ्नुहोला।
नचाहेको सन्तान !

Unwanted Child !
“हाम्री आमैले मलाई सानो छँदा अचम्मको कुरा भन्ने गर्नुहुन्थ्यो- “मैले बिसौं वर्ष भगवानसंग प्रार्थना गरेंको थिएँ- हे भगवान, मलाई कुनै सन्तानको जन्म नदेउ। तँ र तेरो भाईलाई मैले जन्माउँछु होला भनेर कल्पना पनि गरेको थिईन। मैले मेरी साईंली दिदीको दुई छोरा र तीन छोरीहरू नै मेरा सन्तान हुन्, मलाई कुनै सन्तान नदेउ भनेर हरेक दिन प्रार्थना गर्थें।”
हुन पनि ठूली आमा सिंगापुरमा बिरामी भएपछि आफ्नो ५ ससाना बालबच्चा हुर्काउन ठूली आमाकै आग्रहमा उनकै साख्खै बुढीकन्या बसेकी कान्छी बैनी हाम्री सानी आमालाई बाबाले बिहे गरेर सिंगापुर लानु भा’को रैछ। सिंगापुरबाट बाबा रिटायर्ड भई सपरिवार नेपाल फर्केपछि पनि म र भाई अर्को १२-१३ वर्ष जन्मेनछौं र आमैले ठान्नु भएछ अब आफ्नो कोखबाट सन्तान नजन्मने भो, भगवानले प्रार्थना सुनेछन्। तर नेपाल फर्केको दशक कटेसी हामी दुई भाई (म र Khadgabir Thapa) त लगालग पो जन्मिदिएछौं। मलाई आमाको यो कुरा सुनेपछि हाम्री ठूली आमातिरका मेरी तीन दिदीहरू र दुई दाईहरू कति भाग्यमानी रहेछन् दुईटी आमाहरूको माया पाउने भन्ने लाग्थ्यो तर दुईटै आमाहरूले बुढेसकालमा जन्मेका हामी दुई भाईलाई झन बढ्ता पो माया गरेर ल्याए। किन कि एउटा दाई सिंगापुर र अर्को ब्रिटिश गोर्खा आर्मीमा भर्ती भएर बिदेश गईसकेका थिए भने तीन दिदीहरू ब्रिटिश गोर्खा लाहुरे भिनाजूहरूसंग बिहे गरी माईती घर छोडीसकेका थिए। हामी दुई भाई त भाग्यमानीको भुतै कमारो भनेझैं पो भयौं त। तै पनि भगवानसंग नदेउ भन्दा भन्दा जन्मिनु परेकोमा आमैसंग कोटी कोटी माफ़ी माग्दछु र प्रणाम गर्दछु हजुरको त्यो न्यानो कोख, शितल काख र अथाह स्नेह जो मैले र भाई जीले पाईरहेका छौं। आमा तिमी अजम्बरी बाँच है।”🙏💞🥰😍😘😭
प्रदीप परियार थापा