आरोग्यकी देवी सितलादेवी, जस्लाई महामारीमा भाकिन्छ

वाशुदेव मिश्र, पाेखरा ।
दक्षिण फर्किएको सानो गुम्बज शैलीको मन्दिर, गर्भगृहमा रहेको कोतरिएको शिला, पानीको कुण्ड अनि गधामा चढेकी देवीको प्रतिमा!

पोखरामा सितलादेवीकै नामबाट चिनिने ठाउँमा रहेको सितलादेवी मन्दिरमा बाहिरबाट देखिने यत्ति नै हो। मन्दिरमा नित्यपूजा हुन्छ नै। भक्तहरु पनि आउने नै भए। बलि पनि चढाइन्छ। देवीलाई परेवा र बोकाको भोग दिइन्छ। केहीले परेवा उडाउँछन् पनि। अन्य शक्तिपीठमा जस्तै यहाँ पनि भाकल गरिन्छ। तर, फरक यत्ति छ, सितलादेवीमा आरोग्यताको भाकल गरिन्छ। रोग निको होस् भन्ने कामना गरिन्छ।

मन्दिरका पुजारी मुक्ति तिमिल्सिनाका अनुसार बालबालिकालाई रोग लागेमा आरोग्यताको कामना गर्दै यहाँ भक्तहरु आउँछन्। रोग निको होस् भन्ने कामना गर्छन्।

 

 

सितलादेवी आरोग्यताकै देवी हुन्। मन्दिरको शिलालेखबाट थाहा हुन्छ, मन्दिर विक्रम संवत् १९८९ सालको जेष्ठ शुल्क पूर्णिमाको दिन बनेको हो। यो समय ठ्याक्कै त्यही समय हो, जुनबेला पोखरामा बिफरको महामारी फैलिएको थियो। इतिहासकार डाक्टर महेशराज पन्तका अनुसार काठमाडौंमा १७९६ सालमा बिफरको महामारी सुरु भएको थियो। धर्म प्रचार गर्न हिंडेका क्यापुचिन पादरी कासिसीआनोको डायरीलाई उधृत गर्दै उनले यो तथ्य केलाएका हुन्। त्यसो त ११७४ सालमा नै बिफर युरोपमा फैलिइसकेको थियो। पोखरामा भने रणबहादुर शाहको कालखण्डमा उनले काठमाडौंबाट निकाला गरेका नागरिकहरुबाट बिफर फैलिएको अनुमान गरिन्छ।sitaladevi5.jpg

मन्दिरका पुजारी मुक्ति तिमिल्सिनाले सुने अनुसार निसान थरका व्यक्तिहरुले यो मन्दिरको जग बसाएका हुन् रे। खासमा निसानहरु पाल्पाली सेनामा काम गर्थे। एकपटक भयो के भने, लडाइँको बेला पाल्पाली सेनाहरु बिफरले थला परेछन्। सेना नै नभएपछि के को लडाइँ? सेनापति निसानको सपनामा सितालदेवी आइछन्। ‘म तेरो जग्गामा छु, तँलाई मैले चेष्टा दिएको हो, मेरो स्याहार गरेस्, तेरो सबै ठीक हुन्छ’, देवीले भनिछन्।

 

 

सेनापति माघ फागुनतिर पोखरा आएछन्। आउँदाखेरि धानको बीउ राख्ने बेला थियो। जग्गा जोतेर ब्याड बनाउँदा सितलादेवीको शिलामा हलोको फाली लागेछ। शिलाबाट रगत आएछ। ढु्ंगाबाट रगत आएपछि अनौठो मानिने नै भयो। तान्त्रिक, ज्योतिष सबै भेला भए। शिला सितलादेवीकै भएको ठहर भयो। सेनापतिले त्यही ठाउँमा ‘मठ’ बनाएछन्। मठ बनाएर उनी पाल्पा फर्के। पाल्पा फर्कँदै गर्दा उनले मठको संरक्षण र त्यहाँको जग्गा कार्की थरलाई सुम्पेछन्।

संस्कृतिविद प्राध्यापक डाक्टर जगमान गुरुङ पनि यो कुरामा सहमत देखिए। उनका अनुसार सितलादेवीमा पहिल्यैदेखि आरोग्यको कामना गर्दै पूजाआजा गरिन्थ्यो। बिफरको महामारीको बेला मन्दिर मात्रै बनाएको हो। त्यहाँ भएको देवीको शिला र पानीको कुण्ड प्राकृतिक नै हुन्। शिलालेखले पनि त्यही भन्छ। शिलालेखमा कार्कीहरुको गोत्र लेखिएको छ। धनवीर र महावीरले मन्दिर बनाएको उल्लेख गरिएको छ। शिलालेखमा वै. र कविराज पटकपटक उल्लेख गरिएको छ। यसको मतलव् उनीहरु वैद्य–कविराज भएको अनुमान लगाउन सकिन्छ। महामारीबाट बँच्न उनीहरुले नै सितलादेवी मन्दिर स्थापना गरिदिएको सामाजिक अभियन्ता तथा इतिहासविद विश्व सिग्देलको पनि मत छ।

पुजारी मुक्तिका अनुसार मन्दिरमा जोतिएको शिला छ। ‘त्यसमाथि अरु शिला थपिएको हो’, उनले भने, २०७० सालतिर मूर्ति किर्तिपुरबाट ल्याइदिएका हुन्।’ उनका अनुसार सितलादेवीको बाहन गधा हो भने मूर्तिमा चारवटा हात रहेका छन्। एउटा हातमा कमण्डलु, झाडु र अर्को हातले आशिर्वाद दिएको अनि एकहात माला भएको प्रतिमा प्रतिष्ठा गरिएको हो। झाडु सरसफाई र हातमा भएको कलश अमृतको प्रतिक भएको उनले अथ्र्याए। अहिले भने मन्दिर पुनर्निर्माण भएको छ।

 

 

भारतका विभिन्न ठाउँमा सितलादेवीको मन्दिर भए पनि नेपालमा भने सितलादेवीका धेरै मन्दिर छैनन्। बिफरकै महामारीमा काठमाडौंमा चाहिँ बिफर निको पार्न नेवारहरुले ‘सितला माजू’को पूजा गरेको पाइन्छ। स्कन्ध पुराणमा सितलादेवीको वर्णन गरिएको छ। उनी स्वच्छताकी देवी हुन्। उनको हातमा भएका कलश, नाङ्लो, झाडु (कुचो) र निमको पात जस्ता प्रतिकहरुले पनि उनी स्वस्थताकी देवी भएको प्रमाणित हुन्छ। उनको साथमा ज्वरोको दैत्य, औलोको चण्डी, हैजाकी देवी, घण्टाकर्णलगायतका देवगण पनि हुन्छन्।sitaladevi3.jpg

नेपालमा नेवारहरुले छालाको रोग भगाउनको लागि सदियौँदेखि घण्टाकर्णको पूजा गर्दै आइरहेका छन्। मन्दिरका पुजारी मुक्तिका अनुसार देवीहरु सबै शक्तिस्वरुपा हुन् र आवश्यकता अनुसार फरक–फरक रुपमा उनको आराधना गरिएको हो।

‘भक्तलाई जस्तो अवस्था प-यो, त्यही रुप धारणा गर्ने हुन्। सिलतादेवी समय अनुसारको रुप हो। सिलतादेवीलाई बुझ्न कालीको रुप हेरे हुन्छ’, उनले भने,‘ कालीको बाहन पनि गधा हो, सितलादेवीको पनि गधा हो। यी शक्तिस्वरुपा भगवती हुन्।’ उनका अनुसार तनहुँको खैरेनीनेर पनि सितलादेवी मन्दिर रहेको छ।

संस्कृतिविद जगमान गुरुङका अनुसार दादुरा, ठेउला, बिफर, पानीसरा रोगबाट मुक्ति पाउन नै सितलादेवीको पूजा गरिएको हो। उनका अनुसार पहिला–पहिला वैद्यहरुले रोग निको पार्न भेद्ने गर्थे रे।

‘त्यो बेला भेद्ने भनेको घाउ बनाउने रहेछ। घाउ बनाएपछि पाक्दो रहेछ, भेद्दा बिफरकै ओखती हाल्ने होला। भेदेपछि ज्वरो आउँदो रहेछ, ज्वरो आएपछि घाउ पाक्ने र सुक्ने हुँदो रहेछ, सुकेपछि पाको भयो’, उनले भने, ‘त्यतिबेला पनि सितलादेवीको पूजा गरिन्थ्यो। उनका अनुसार त्यतिखेर दादुरा आउँदा केटाकेटीको शरीरभर घाउ हुन्थ्यो। घाउ हुँदा माखा लाग्ने भए। त्यो बेला माखा हम्कनको लागि चमर कहाँ पाउनु?’

sitaladevi4.jpg

 

‘त्यो बेला कागजको धुजियाको कुचोजस्तो बनाएर माखा धपाउँदा रहेछन्’, उनले भने,‘ पूजा गर्ने दिनमा त्यो कुचो पनि त्यहीँ चढाउने चलन थियो।’

उनले खटिराजन्य रोगहरु निको हुन् भनेर नै सितलादेवीको पूजा गरिने दोहो-याए। उनका अनुसार काठमाडौंको देउपाटनमा जेठमा विश्वधार भन्ने पूजा हुन्छ। विश्वधार पूजा हुँदा नेवारहरुले देशपूजा गर्छन्।

पछि पोखरामा पनि नेवारहरु आए। नेवारहरुले देशपूजा गरे अनि देशान अर्थात् रोग शान्त भयो। त्यसअघि यस्तो देशान पूजा पोखरामा मगरले गर्थे रे। अहिले पोखरा रानीपौवाका नेवारहरुले जेठमा देशपूजा गर्छन्। एउटा शोभाभगवतीमा बोकाको बली दिन्छन्। पुरानो धारामा भएको अर्को त्यस्तै कोत्रेकोत्रे परेको ढुंगामा पनि बली दिन्छन् अनि सितलादेवीमा पनि बली दिन्छन्।

अनौठो के छ भने, सितलादेवी र पुरानो धारामा भएका दुवै शिलाहरु कोतरिएका छन्। झण्डै बिफर निको भएजस्तो! शोभाभगवती मन्दिर अगाडिका रैथाने हरिश्चन्द्र रंञ्जितका अनुसार शोभाभवती, देवी र सितलादेवी तीनवटै ठाउँमा गरिने पूजा शक्तिको आराधना नै हो। आफ्ना पुर्खाहरुले हैजाको महामारी आउँदा सितलादेवीको आराधना गरेपछि रोग संक्रमण नफैलिएको किंवदन्ती पनि सुनाए।

इतिहास अध्येता विश्व सिग्देलले पनि नेपालमा बिफर फैलनु र सितलादेवी मन्दिर बन्नु संयोग मात्रै नभएको जिकिर गरे। ‘मन्दिरमा रोग निको होस् भन्दै बागलुङ, पर्वतदेखिका मान्छे पनि आउँथे’, उनले भने ,‘सितलादेवी वास्तवमै आरोग्यताकी देवी हुन् र पोखरामा बिफर फैलिएको तिथि–मिति हेर्दा पनि यो कुरा प्रमाणित हुन्छ।’

नेपालखबर बाट