कम्ता गाह्रो छ प्रधानमन्त्रीलाई ?

नन्दलाल खरेल

पूर्वी पहाडको एक फेदीमा जन्मिई अनेकौं हण्डर, संघर्ष गर्दै नेपाली राजनीतिक आन्दोलनको महत्वपूर्ण कालखण्डहरूमा भूमिका निभाउँदै आएका, दोस्रो पटक मिर्गाैला प्रत्यारोपण गरेर पनि मुलुकको महत्वपूर्ण पदमा रहेर अहिले एकसाथ पार्टी संघर्ष, कोरोना भाइरसको संघर्ष र राष्ट्रिय स्वाधीनता कमजोर भैरहेको बेलामा पनि दैनिक १६/१८ घण्टासम्म अहोरात्र नेपाली जनताको पक्षमा खटिने योद्धा प्रधानमन्त्री केपी शर्मा ओलीलाई नमस्कार, सलाम तथा अभिवादन छ । यो पङ्क्तिकारका तर्फबाट पटक–पटक मृत्युको नजिक पुगी नाफाको जिन्दगीमा बाँच्न सफल हुनुभएका प्रधानमन्त्रीलाई मुरीमुरी धन्यवाद ।

प्रधानमन्त्रीज्यू, तपाईंंले गरिब, मजदुर, उत्पीडनमा परेका वर्गको आन्दोलन तथा लोकतन्त्र प्राप्तिको लागि पञ्चायतकालीन कालरात्रीमा १४ वर्ष जेल सजाय पार गरेको र नाकाबन्दीमा भारतसँग लिएको अडानले र तपाईंंको कुशल राजनीतिक योगदानले नै नेकपा शक्तिशाली पार्टी अर्थात् दुई तिहाइ नजिकको पार्टी बनेको हो, कोही माइकालालले यत्रो संघर्ष गरेको छ ? प्रधानमन्त्रीज्यू, तपाईं नभइदिएको भए सायद यो पार्टी अहिले पनि एमाले नै हुन्थ्यो । यत्रो शक्तिशाली नेकपा कहाँ हुन्थ्यो ? के नेपाली जनताले यसको मूल्यांकन गर्नु पर्दैन ? झण्डै ७ दशक पुगेको बयोवृद्ध मान्छेलाई खालि गाली गरेर मात्र हुन्छ हामीले ? के देश बनाउने काम हाम्रो चाहिँ होइन ? अरुलाई दोष मात्र देखाएर आफू पन्छिन मिल्छ ?

आज हामी विवेकी बनेनौं, भ्रष्टाचार बढ्यो प्रधानमन्त्रीलाई दोष, प्रशासनले काम गरेन प्रधानमन्त्रीलाई दोष, बाटामा खाल्टाखुल्टी भए प्रधानमन्त्रीलाई दोष, कुनै हस्पिटलले लापरबाही गरी कसैको मृत्यु भयो प्रधानमन्त्रीलाई दोष, कुनै गाडी दुर्घटना परी कसैको मृत्यु भयो प्रधानमन्त्रीलाई दोष, देशमा मानव बेचबिखन तथा लागूपदार्थको ओसारपसार बढ्यो प्रधानमन्त्रीलाई दोष, व्यापारीले कालोबजारी गर्छ प्रधानमन्त्रीलाई दोष, बजारमा कुनै चिज अभाव हुन्छ प्रधानमन्त्रीलाई दोष, हुँदाहुँदा श्रीमान्श्रीमती झगडाभई बाटो बन्दभयो त्यो पनि प्रधानमन्त्रीलाई दोष, के प्रधानमन्त्री पद सबैको दोष बोक्नैका लागि हो ? देशमा भ्रष्टाचार बढे अख्तियारलाई दोष दिनु पर्दैन ? बाटामा खाल्टाखुल्टी भए त्यो काम यातायात विभागको होइन ? कुनै हस्पिटलको लापरबाहीले कसैको मृत्यु भए स्वास्थ्य सेवा विभागको दोष होइन ? कुनै श्रीमान्श्रीमतीको झगडा भएउनीहरूको बुझाइको खडेरीले भएको होइन ? जेमा पनि प्रधानमन्त्रीलाई दोष दिएर हुन्छ ?

आज मुलुक कोरोना भाइरस (कोभिड –१९)सँग जुधीरहेको छ । सरकारले कोरोनालाई जित्न लकडाउन थपिरहेको छ । नथपेर के गर्नु ? छिमेकी मुलुकमा ठूलो संख्यामा संक्रमण बढेको छ । त्यति मात्र होइन मानवीय क्षति पनि बढ्दै गएको छ । अझ भारतसँग खुला सीमाना भएकोले लुकिछिपी आउने संख्या बढेको बढै छ । अनि विचारा प्रधानमन्त्रीले लकडाउन नथपेर के गरुन ? यदि लकडाउन केही कथम अहिल्यै हटाउने हो भने किन लकडाउन हटाएको भन्नेछन् यिनै जनता । सरकार पनि आफ्नो काममा व्यस्त नै छ नि त । कोरोनाको बारेमा सम्पूर्ण कुरा बुझ्न उपप्रधानमन्त्रीकै संयोजकत्वमा सरकारले एउटा समन्वय समिति बनाइदिएको छ । कोरोनासम्बन्धी कुरालाई लिएर सबै प्रधानमन्त्रीसँगै ठोक्किनु पर्ने ? त्यसको सबै दोष प्रधानमन्त्रीले नै बोक्नु पर्ने ? कस्तो विडम्बना ! त्यसो भए उपप्रधानमन्त्रीको संयोजकत्वमा बनाएको समितिको के काम ?

प्रधानमन्त्रीलाई गाली गरेर थालथालमा खाना आफैँ आउँछ ? विचरा प्रधानमन्त्री सकी नसकी आराम गरेर बस्नुपर्ने समयमा बेला–बेला राष्ट्रलाई सम्बोधन गर्नुभएकै छ । लकडाउनले गर्दा विचरा वहाँले भाषण गर्नु, उखानटुक्का भनेर जनतालाई हँसाउन, विभिन्न कार्यक्रमको आतिथ्यता ग्रहण गरी रिबन काट्न पाउनुभएको छैन । कसैसँग हात मिलाउन, गला मिलाउन पाउनुभएको छैन, विचरा वहाँलाई कस्तो गाह्रो छ । के तपाईंहामी जनताले यो कुरा बुझ्नु पर्दैन ? सबैले गाली मात्र गरिरहन्छन् ।

आज प्रधानमन्त्रीलाई आफ्नै पार्टीका साथीहरूले, विपक्षीहरू, सञ्चार माध्यम सबैले शासनशैली अधिनायकवादी प्रवृति देखिएकोले राजीनामा माग गरेका छन् । हामी सबैलाई के थाहा हुन जरुरी छ भने कम्युनिष्ट शासन प्रणाली जहिल्यै पनि अधिकारवादी सिद्धान्तमा आधारित हुन्छ । किन हामीले अधिनायकवादको मर्म नबुझेको हो ? अधिनायकवाद भनेको किसान, मजदुर, शोषण, उत्पीडनमा परेका बहुसंख्यक वर्गको नियन्त्रणमा पुँजीपति, दलाल, नोकरशाहीमाथि गर्ने शासन होइन ? सञ्चार माध्यमहरूले किन यति धेरै खेदो खनिरहेका छन् प्रधानमन्त्रीलाई ? त्यही भएर उनले सरकारको विरोध गर्नेलाई अरिङ्गालको गोलोले घेर्नु पर्छ त्यसै भनेका होइनन् । लकडाउनको समयमा त झन प्रधानमन्त्रीले यति धेरै संवेदनशील भएर काम गर्नुभएको छ कि अहिलेसम्म संक्रमण भएर मर्ने संख्या छैन, संक्रमित पनि धेरै डिस्चार्ज भएर भटाभट घर फर्किरहेका छन् ।

प्रधानमन्त्रीलाई सञ्चार माध्यमले अति गरेपछि मे दिवसको दिन उनले सञ्चार माध्यमलाई अलि कडै हिसाबले दिएको अभिव्यक्ति यो पङ्क्तिकारलाई साह्रो चित्त बुझेको छ । उनले भनेका छन्, ‘अप्ठ्यारो परिस्थितिको मौका छोपेर अस्थिर मच्चाउन खोज्नेलाई सरकारले कदापि छोड्ने छैन । आफ्ना स–साना स्वार्थ वा कुनै गलत उद्देश्यका साथ कसैले यस परिस्थितिलाई बिथोल्न र बिगार्न खोज्छ भने सरकार नेकपा कार्यकर्ता र आम नेपाली जनतालाई यो किमार्थ स्वीकार हुँदैन । यस्ता प्रयासलाई सफल हुन दिइने छैन भन्नेमा म सबैलाई आश्वस्त पार्न चाहन्छु ।’

‘समृद्ध नेपाल सुखी नेपाली’को परिकल्पनाकार प्रधानमन्त्री हुन् । उनले देशमा रेल कुदाउने, जलमार्गको विकास गरी पानीजहाज कुदाउने, धेरै ठाउँमा ८ लाइन ६ लाइनको सडक विस्तार गर्ने, दुई अंकको आर्थिक वृद्धिदर घोषणा गर्ने, पाँच वर्षभित्र रोजगारीका लागि विदेशिनु पर्ने अवस्थाको अन्त्य गर्ने, पाँच वर्षमा नेपाली अहिलेको तुलनामा दोब्बर धनी हुने प्रक्षेपण गर्ने त्यति मात्र होइन घर–घरमा ग्यास पु-याउने धारणा ल्याउने, हावाबाट बिजुली निकाल्नेजस्ता दर्जनौँ महत्वपूर्ण योजना ल्याउनुभएको थियो । के यस्ता योजनामा हामी सबैले साथ दिनु पर्दैन ? के प्रधानमन्त्री एक्लैले देशको समृद्धि सम्भव छ ? किन यो कुरा तपाईंहामीले बुझ्न सकेनौं ? अरुको त के कुरा गरौं आफ्नै पार्टीका साथीहरूले समेत उहाँलाई उल्लु बनाइरहेका छन् । अहिले त हुँदाहुँदा प्रचण्ड, माधव, झलनाथ, नाराणकाजी सबले राजीनामा मागेका छन् । के अहिले राजीनामा माग्ने समय हो ? पार्टीका आफ्नै सहकर्मीहरूले किन कुरा बुझिदिएका छैनन् ?

सरकार अहिले बजेट अधिवेशनमा जुटिरहेको छ । सरकारले तोकिएको समय बजेट ल्याउने महत्वपूर्ण काममा प्रधानमन्त्री अहोरात्र खटेकै छन् । संसद्मा प्रधानमन्त्रीमाथि जुन आक्षेपहरू लगाइएको छ, यी सबै निराधार हुन् । धेरै नेता तथा सांसदहरूले सरकारले कोरोना नियन्त्रण नगरेको, लक्षित वर्गलाई राहतन पुगेको, सरकार शक्ति संघर्षमा लागेको आरोप लगाएका छन् । प्रधानमन्त्रीले पटक–पटक कोही भोको नहोस् भनेर भनिरहनुभएको छ । वहाँको मन्त्रिपरिषद्ले धेरै राम्रा निर्णयहरू गरेका छन् । के राज्यका सबै निकाय सक्रिय हुनु पर्दैन ? केवल प्रधानमन्त्री मात्र सक्रिय भएर पुग्छ ? के अहिलेको विकल्प प्रधानमन्त्रीको राजीनामा हो ? वहाँले भनिसक्नुभएको छ त, कोरोना नियन्त्रणमा अहिले हामी सबै लागौँ, त्यसपश्चात् उपयुक्त समयमा वामदेव गौतमलाई निर्वाचित गरी प्रधानमन्त्री बनाउने कुरा । प्रधानमन्त्रीजस्तो गरिमामय पदमा बसेको व्यक्तिले भनेको कुरा तपाईंहामीले पत्याउनु पर्दैन ? हामी सबैले एक पटक गम्भीर भएर सोच्ने बेला आएको छ ।

कोरोना भाइरन र सत्ता संघर्षको युद्धविराम बल्झेको बेला फेरि अर्को विपत्ति भारत सरकारबाट स्वाभिमानमा आँचआई मुलुकको राष्ट्रियताको जगेर्ना कसरी गर्ने टड्कारो समस्यामा परेका छन् ? विचरा प्रधानमन्त्री । यस्तो बेला पनि सबैले उनलाई गाली गरेका छन् । किन समयमा उपयुक्त कदम चालिएन सरकारको तर्फबाट भनेर प्रश्न तेस्र्याउँछन् ? विचरा प्रधानमन्त्रीले देशको तर्फबाट बेला बेलामा प्रेस नोट भारतलाई पठाएकै हुन् । समय–समयमा मोदीसँग समस्या सुल्झाउन टेलिफोन गरेकै हुन् । अहिले प्रेस विज्ञप्ति जारी गरेर विरोध गरेकै छन् । के माटोको रक्षा गर्नु प्रधानमन्त्रीको मात्र दायित्व हो ? के तपाईंहामीले बुझ्नु पर्दैन ? सबै कुरामा प्रधानमन्त्रीलाई मात्र दोष थुपार्ने संस्कृति बन्द गरौं हामी सबैले ।

अन्त्यमा के मुलुक समृद्ध हुँदा त्यसको प्रतिफल आउने पुस्ताले पाउने हैन ? प्रधानमन्त्रीले त लामो समय पक्कै भोग्ने होइन होला ? हाम्रा प्रधानमन्त्रीलाई केको लोभ छ र न उनका सन्तान नै छन् । के हामी सबै नेपाली उनका सन्तान होइनौं र ? यति राम्रो काम गर्ने प्रधानमन्त्रीलाई हामी सम्मान गरौं । यो आजको पुस्ताले यति विकासप्रेमी, जनताप्रेमी शासक पाउन मुश्किल होला । तसर्थ प्रधानमन्त्रीको कामको उचित मूल्यांकन गरौं । ‘समृद्ध नेपाल सुखी नेपाली’को नारा यो केवल नारा मात्र होइन । यदि हामीले सोच परिवर्तन गर्ने हो भने अवश्य सम्भव छ । सबैलाई चेतना भया ।