अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि सयभन्दा कमको मृत्यु

जेठ ११ । अमेरिकाको न्यूयोर्कमा दुई महिनापछि पहिलो पटक कोरोनाका कारण मृत्यु हुनेको संख्या एक सयभन्दा कममा ओर्लिएको छ ।

अमेरिकाको कोरोना इपिसेन्टर बनेको न्यूयोर्कमा मार्च महिनापछि पहिलो पटक कोरोनाका कारण सयभन्दा कमको मृत्यु भएको त्यहाँका गभर्नरले जनाएका हुन् ।

 

 

न्यूयोर्कका गभर्नर एन्ड्रु कूमाले पछिल्लो २४ घण्टामा ८४ जनाको मात्र मृत्यु भएको जानकारी दिएका हुन् ।

अमेरिकाभरमै सर्वाधिक प्रभावित राज्य न्यूयोर्कमा अप्रिलमा एकैदिन एक हजारभन्दा बढीको मृत्यु भएको थियो । कोरोनाभाइरसका संक्रमित पनि कम हुँदै गएको जनाइएको छ ।

 

अमेरिकामा अहिलेसम्म साढे ९८ हजारभन्दा बढी व्यक्तिको मृत्यु भएको छ भने १६ लाख ६६ हजारभन्दा बढी संक्रमित छन् । एजेन्सी