कार्मेन रेनहर्ट विश्व बैंककी प्रमुख अर्थविद् नियुक्त

वाशिङटन डीसी (अमेरिका) । बहुपक्षीय कर्जादाता निकाय विश्व बैंकले वित्तीय संकटबारे विज्ञता हासिल गरेकी अर्थशास्त्री कार्मेन रेनहर्टलाई प्रमुख अर्थविद् नियुक्त गरेको छ ।

बैंकले गत बुधवार बहुराष्ट्रिय लगानी बैंक बियर स्ट्न्सकी पूर्व कार्यकारी रेनहर्टलाई प्रमुख अर्थविद्मा नियुक्त गरेको हो । कार्मेन अहिले अन्तरराष्ट्रिय मुद्रा कोष (आईएमएफ) र न्यूयोर्क फेडरल रिजर्भको सल्लाहकार समितिमा पनि छिन् ।

रेनहर्टले जुन १५ देखि पदभार सम्हाल्नेछिन् । मार्च १ मा पाइनलोपी गोल्डबर्गले राजिनामा दिएपछि रिक्त रहेको पदमा रेनहर्टलाई नियुक्त गरिएको हो ।

कोरोना भाइरसको महामारीले विकसित देशहरुमा आर्थिक पीडा थपिरहेकोले रेनहर्टको अनुभव र अन्तरदृष्टि अमूल्य साबित हुने एक विज्ञप्तिमा बैंक अध्यक्ष डेभिड मलपासले भनेका छन् ।

रेनहर्टले अन्तरराष्ट्रिय पूँजी प्रवाह र सार्वभौम कर्जा संकट लगायत विषयमा विज्ञता हासिल गरेको विज्ञप्तिमा भनिएको छ । एजेन्सी