जापानमा स्टोर पुन : सञ्चालनमा ल्याउंदै एप्पल

जेठ १२, टोकियो (जापान) । अमेरिकी आइफोन निर्माता कम्पनी एप्पल इंकले जापानमा छिट्टै नै स्टोरहरु पुन : सञ्चालनमा ल्याउने भएको छ । कोभिड–१९ को महामारीका कारण महीनौंदेखि बन्द रहेका खुद्रा स्टोरहरु यसै हप्ता खुलाइने भएको हो ।

 

 

फुकुओका र नागोया साकाइमा रहेका स्टोरहरु मे २७ मा खोलिने कम्पनीको वेबसाइटमा भनिएको छ । बाँकी रहेका आठ स्टोर पुन : सञ्चालनमा आउने मिति भने वेबसाइटमा उल्लेख गरिएको छैन ।

स्टोर खुलेपनि ढोकामा ग्राहक र कर्मचारी सबैको तापक्रम जाँच गरिने, समाजिक दूरी कायम गरिने र मास्कको प्रयोग अनिवार्य बनाइने लगायत सुरक्षाका उपायहरु अपनाइनेछ ।

 

 

सरकारले आपतकाल हटाउने योजना पारित गरिसकेको भएपनि राजधानी टोकियामा अहिले पनि आपतकाल छ । कम्पनीले अष्ट्रेलिया, जर्मनी, अष्ट्रिया, दक्षिण कोरिया, स्वीटजरल्याण्डमा स्टोर पुन : सञ्चालनमा ल्याइसकेको छ ।

इटली र अमेरिकामा समेत केही स्थानका खुद्रा स्टोर पुनः सञ्चालनमा आइसकेका छन् । एजेन्सी