कोरोना भाइरस

पूनम काफ्ले

यो संवृद्ध सहर, पीडाको राजधानी बनेको देखेर,
सारा संसारलाई कोरोना भाइरसले सताएको हेरेर,
कसलाई भनुँ म मेरो मन कत्ति आत्तिएको छ भनेर,
के गरूँ, कसो गरूँ, कहाँ जाऊँ, कसलाई कहुँ गएर|
आयौ तिमी! सुन एक छिन म भन्छु मेरो दिलको कथा,
मेरो आत्म शक्ति शिथिल भएर लोलाएको तनको व्यथा|
केही कुराले आकर्षण गरेन, न जोस, न उमङ्ग, जाग्यो,
जीवन व्यर्थ बन्यो , मलाई सगरमाथा पनि होचो लाग्यो|

मेरा असीमित इच्छा आंकाक्षाहरु खुम्चिएर सूक्ष्म बन्यो,
आफन्तहरूको दुख र कष्ट टाढैबाट मात्र सुनेर बस्नु पर्‍यो|
मेरा आँटहरू कमजोर बनेर दिलको कुनामा गएर बस्यो,
चञ्चल प्राण तत्त्व करुणा बनेर दुई नेत्रबाट झरझरी झर्यो|
हाँस्न बिर्सिएँ, विरह बर्सिए, वेदनाले कटक्क मुटु काट्यो
सावधान हकिकत बन्यो, चिन्ता बढ्यो चिन्तन दूर भाग्यो
ओहो!! समयको आफ्नै चाल र आफ्नै ढाल हुँदो रहेछ
बेला बखत,आफैले आफैलाई सम्हाल्न गाह्रो पर्दो रहेछ|
लाग्छ आकाशमा मडारिरहेको कालो बादल हट्दै जाला
भोलिको सूर्योदयले हामी सबको दिनचर्या स्वस्थ राख्ला|