जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

नेपाल एयरलाइन्सले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले मंगलवार राति फुकुओका शहरमा चार्टर उडान गर्ने कार्यतालिका रहेको निगमले जानकारी दिएको छ ।

बन्दाबन्दीको अवधिमा निगमको जापानमा यो छैटौँ उडान हो । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट मंगलवार राति ९:०० बजे उड्ने वाइड बडी जहाज फुकुओका शहर पुगेर बुधवार दिउँसो १:३० बजे काठमाडौं अवतरण गर्नेछ । काठमाडौं–फुकुओका गन्तव्यको उडान करीब ६ घण्टाको हुनेछ ।

निगमक प्रवक्ता अर्चना खड्काले निगमले पहिलो पटक फुकुओका शहरमा चार्टर उडान गर्न लागेको जानकारी दिइन् । यो उडानमा २६० हाराहारी यात्रु रहेका छन् ।

नेपालमा लकडाउनका कारण रोकिएका केही जापानी र जापानमा बसोबास गर्ने नेपाली जापान फर्किन लागेका हुन् । पछिल्लो पटक यही जेठ ११ गते निगमले नारितामा पाँचौ पटक चार्टर उडान गरेको थियो । रासस