कार उद्योगको लागि फ्रान्सले ल्यायो ८ अर्ब यूरोको उद्धार योजना

जेठ १४, पेरिस (फ्रान्स) । फ्रान्सले घरेलु कार उद्योगको लागि ८ अर्ब यूरोको वित्तीय उद्धार योजना ल्याएको छ । कोरोना भाइरसको महामारीका कारण थलिएको उद्योगलाई टेवा दिन सरकारले सो योजना ल्याएको हो ।

राष्ट्रपति इम्यानुएल म्याक्रोँले ल्याएको यस योजनामा नागरिकहरुलाई विद्युतीय कार किन्न प्रोत्साहित गर्न ७ हजार यूरोसम्म अनुदान दिन १ अर्ब यूूरो समेत छुट्टयाइएको छ ।

यसमा फ्रान्सलाई विद्युतीय सवारी साधन उत्पादनको केन्द्र बनाउन लगानी समेत संलग्न छ । महामारीका कारण अटो उद्योग हजारौं रोजगारी कटौतीको संघारमा रहेकै बेलामा यो योजना आएको हो ।

 

 

राहतको बदलामा २ ठूला फ्रान्सेली कार निर्माता कम्पनी रेनो र पीएसएले घरेलु बजारमा उत्पादनलाई प्राथमिकता दिने वाचा गरेका छन् ।

फ्रान्सलाई यूरोपको सबै भन्दा ठूलो स्वच्छ ऊर्जाबाट चल्ने सवारी साधन निर्माता बनाउन आगामी पाँच वर्ष भित्र हरेक वर्ष १० लाख थान भन्दा धेरै विद्युतीय र हाइब्रिड कार उत्पादन गर्ने लक्ष्य चाहिएको पत्रकार सम्मेलनमा म्याक्रोँले बताए ।

अहिले फ्रान्समा उत्पादित कारको कुनै पनि मोडल अन्य देशमा उत्पादन हुन नुहुनेमा उनले जोड समेत दिएका छन् । कोरोना भाइरसको महामारीबीच विश्वका अन्य क्षेत्रमा जस्तै फ्रान्समा पनि विक्री घटेको छ । यस्तोमा डिलरमा रहेका करीब ५ लाख नयाँ कारले क्रेता पर्खिरहेको बताइएको छ ।

माग बढाउन सरकारले नयाँ विद्युतीय कार किन्ने घरपरिवार र कम्पनीलाई अनुदान दिने भएको छ । सरकारले आगामी वर्षको अन्त्यसम्म ब्याट्री चार्ज गर्ने स्टेशनको संख्या तेब्बर बनाउँदै १ लाखमा पुर्‍याउने भएको छ ।

 

 

एक अर्ब डलर लगानी अनुसन्धान र उत्पादनको आधुनिकीकरणमा खर्च गरिने बताइएको छ । कारका ब्याट्री उत्पादनका लागि फ्रान्स–जर्मन कन्सोन्र्टियमसँग सहकार्य गराउन सरकारले रेनोलाई ५ अर्ब डलर कर्जा दिने भएको छ । सन् २०२५ सम्ममा हरेक वर्ष फ्रान्समा १० लाख थान विद्युतीय कार उत्पादन गर्ने लक्ष्य भएको म्याक्रोँको भनाइ छ ।

बजार अनुसन्धाता संस्था आईएचएस मार्किटका अनुसार सन् २०१९ मा फ्रान्स यूरोपको शीर्ष विद्युतीय र हाइब्रिड कार निर्माता थियो । तर यस वर्षको अन्त्यसम्ममा यसलाई जर्मनीले उछिन्ने देखिएको छ । एजेन्सी