जापानमा ११ खर्ब डलरको अर्को स्टिमुलस पारित

टोकियो (जापान) । कोरोना भाइरसको महामारीले अर्थतन्त्रमा परेको आर्थिक अप्ठ्यारा कम गर्न जापानले अर्को स्टिमुलस कार्यक्रम ल्याएको छ ।

प्रधानमन्त्री सिञ्जो आबेको मन्त्रीपरिषद्ले बुधवार ठूलो मात्रामा प्रत्यक्ष खर्चको योजना सहित ११ खर्ब डलर बराबरको ताजा स्टिमुलस कार्यक्रम पारित गरेको हो ।

महामारीका कारण अर्थतन्त्रलाई गहिरो मन्दीबाट जान रोक्न सरकारले यस्तो कदम चालेको हो । स्टिमुलस कार्यक्रम आंशिक रुपमा दोस्रो पूरक बजेटमार्फत पूर्ति गरिनेछ ।

यो सँगै कोरोना भाइरसको प्रभाव कम गर्न जापानले ल्याएको कुल स्टिमुलसको आकार २ हजार ३ सय ४० खर्ब येन बराबर भएको छ । यो जापानी कुल गाहस्थ्य उत्पादन (जीडीपी)को अनुपातमा करीब ४० प्रतिशत हो ।

यो सँगै आबे सरकारले ल्याएको कोरोना भाइरसको महामारीको प्रभावसँग जुध्न ल्याएको यो प्याकेज विश्वको सबैभन्दा ठूलो प्याकेज मध्ये एकमा पुगेको छ । अमेरिकाले पनि अर्थतन्त्रलाई टेवा दिन २३ खर्ब डलरुको सहायता कार्यक्रम ल्याएको थियो ।

पछिल्लो स्टिमुलसमा ३ सय ३० खर्ब येन भने प्रत्यक्ष खर्च पनि भएको अर्थमन्त्रालयले बताएको छ । यो खर्च बेहोर्न ३ सय १९ खर्ब येनको अतिरिक्त सरकारी ऋणपत्र जारी गरिनेछ ।

यो सँगै चालू आवमा जारी गरिने ऋणपत्रको आकार ९०० खर्ब येनको कीर्तिमानी उचाईमा पुग्नेछ । अगाडि आउने अप्ठ्यारा अवस्थाबाट व्यवसाय र रोजगारी जुनसुकै हालतमा जोगाउनु पर्नेसत्तारुढ दलका नीतिनिर्माताहरुसँगको भेलामा प्रधानमन्त्री सिञ्जो आबेले बुधवार भनेका छन् । अर्को चरणको महामारीका लागि तयारी गर्न सबै आवश्यक उपायहरु अपनाउनु पर्नेमा समेत उनले जोड दिएका छन् ।

नयाँ प्याकेजमा चिकित्सा खर्च बढाइने, भाडा तिर्न सकस भइरहेका कम्पनीहरुलाई टेवा, पार्ट–टाइम जागिर गुमाएका विद्यार्थीहरुलाई सहायता र विक्री घटेका कम्पनीहरुलाई थप सहुलियत आदि उपायहरु छन् । दोस्रो पूरक बजेटमा सरकारले १०० खर्ब येन आपतकालीन खर्चका लागि छुट्टयाउँदैछ ।

महामारीको चपेटामा परेका कम्पनीहरुको वित्तीय सयहाताका लागि सरकारले छुट्टै १ हजार ४०० खर्ब येन उपलब्ध गराउने समेत आबेले बताएका छन् । घर परिवारलाई प्रत्यक्ष नगद वितरण र महामारीको तत्कालीन प्रभाव कम गर्न जापानले अप्रिलमा १ हजार १ सय ७० खर्ब येनको स्टिमुलस कार्यक्रम ल्याएको थियो ।

महामारीको आर्थिक प्रभाव बढ्दै गएपछि आबेले बुधवार मन्त्रीपरिषद्लाई अर्को स्टिमुलस योजना ल्याउन आदेश दिएका हुन् । गत त्रैमासमा जापानी अर्थतन्त्र साढे ४ वर्षयता पहिलो पटक मन्दीमा गएको थियो । एजेन्सी