अमेरिकी भन्सार छुट र नेपाली हविगत

अमेरिकाले नेपाललाई भन्सार छुटमा सामान निर्यातको अवसर दिएको खबरले सुरुमा निकै उत्साह जागेको थियो । तर, जब त्यो कानुनको पूर्णांश सार्वजनिक भयो, नेपालीका लागि हात्ती आयो हात्ती आयो फुस्सा जस्तो सावित भयो । अमेरिकाले नेपाललाई अल्पविकसित राष्ट्र अन्तर्गतको सेक्सन ९१५ को सुविधा घोषणा ग¥यो र अमेरिकाले जनरल सिस्टम अफ प्रेफरेन्सस(जिएसपी) अन्तर्गतको सुविधा स्वीकृत गर्ने ऐनमा राष्ट्रपति बाराक ओबामाले २४ फेब्रुअरीमा हस्ताक्षर गरेपछि यो सुविधाबारे थप जानकारी आयो ।
६६ वटा वस्तुलाई भन्सार नलिने भन्ने खबर चानेचुने थिएन । तर ती वस्तु यस्ता रहेछन् कि नेपाली उद्यमीले उत्पादन गर्ने नै छन् । नेपाली गार्मेन्ट बढीजसो उत्पादन गर्ने टिर्स र सर्टहरु सूचीमा अटाउन नसक्नु दुर्भाग्य भएको छ । सुविधा दिने नै भनेपछि त्यसअघि नेपालमा के के उत्पादन हुन्छ भन्ने अमेरिकीले अनुसन्धान गर्दिएको भए हुन्थ्यो । सुविधा आउँदैछ भन्ने भएपछि नेपाल सरकारले पनि केही पहल गरेको भए लाभ लिन सकिने अवस्था हुन्थ्यो होला ।
अर्काे कुरा अमेरिकाले सुविधा देला र खाऊँला भन्ने मान्यता राखेर सजिलो बाटो मात्रै खोज्न खोज्नु पनि नेपाली उद्यमीको भूल हो । उसका सर्त कतिपय हकमा जायज पनि छन् । उद्योग एक्सपोर्ट प्रोसेसिङ जोन (औद्योगिक क्षेत्र) मा सञ्चालन भएको हुनुपर्ने, कुनै पनि उद्योगमा १८ वर्षमुनिका बालबालिकालाई काममा लगाउन नपाइने, उत्पादित सामग्री कम्तीमा ३५ प्रतिशत नेपालमा उत्पादन भएको हुनुपर्ने, अन्य देशबाट नेपालमा सामान ल्याएर निर्यात गर्न नसकिने, हस्तकला, नेपाली संस्कृति झल्कने सामग्री अमेरिका पठाउन सकिने जस्ता सर्तहरु जायज छन् । नेपाली व्यवसायी व्यावसायिक हुन जरुरी छ । अमेरिकाले राखेका यी सर्तहरु अमेरिकाले राखे पनि नराखे पनि फलो गर्नुपर्ने कुराहरु नै हुन् ।
कुनै बेला अमेरिकामा नेपालबाट ५ अर्ब तीन करोड रुपैयाँको तयारी पोसाक निर्यात भएको थियो । अमेरिकी सुविधा उपयोग गर्न सकेन एक वर्षमा १० खर्बको सामान निर्यात गर्न सकिने भनेर व्यवसायीले पहिला बताएका थिए । अमेरिकी दुई सदनले पारित गरेको ऐनले समेटेका नेपाली सामानको कुल निर्यात सन् २०१५ मा ८० लाख अमेरिकी डलर बराबर थियो । खर्बाैंको निर्यात गर्ने उद्योग चल्दा ८ लाख जनालाई रोजगारी दिन सक्ने आत्मविश्वास पनि व्यवसायीले सार्वजनिक गरेका थिए । तर, अहिले आएर उनीहरुको विश्वास एकाएक धर्मराएको छ । अमेरिकाले दिएको यो सुविधा उपयोग गर्नसक्ने खुबी भएन भने त्यो नेपालीकै कमजोरी हुनेछ । त्यसले नेपाली तन्नम हविगत उदांगो पार्नेछ । त्यस्तो नहोस् ।