उत्पादन क्षमता २० प्रतिशत घटाउँदै निशान

टोकियो (जापान) । जापानी अटो निर्माता कम्पनी निशान मोटरले उत्पादन क्षमता घटाउने भएको छ । कोरोना भाइरसको महामारीका कारण विक्री घटेसँगै कम्पनीले खर्च कम गर्न यस्तो कदम चालेको हो ।

स्थिर लागत ३ खर्ब येन (२ अर्ब ८० करोड डलर) कम गर्ने लक्ष्यसहित उत्पादन क्षमता २० प्रतिशतले घटाइने बिहीवार निशानले बताएको हो । यस चार वर्षिय योजना अन्तर्गत कम्पनीले स्थिर वृद्धि हासिल गर्न खोजेको छ । यस अघि भने निशान आक्रामक विस्तारको योजना चलेको थियो ।

मार्चमा सकिएको आर्थिक वर्षमा कम्पनीलाई ४० अर्ब येन (३७ करोड ६० लाख डलर) सञ्चालन घाटा भएपछि कम्पनीले यस्तो घोषणा गरेको हो । कम्पनीले घाटा बेहोरेको ११ वर्षयता यो पहिलो पटक हो । एजेन्सी