नेपालमा थप ४५१ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या ६२११ पुग्यो

काठमाडौं १ असार .
नेपालमा कोरोना संक्रमित ४ सय ५१ जना फेरि थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा ४ सय ५१ जना संक्रमित थपिएको सोमबार जानकारी दिइएको हो।

 

 

मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले १ हजार ४१ जना डिस्चार्ज भएको बताए। उनका अनुसार २ वटा कल सेन्टरबाट १२ सय ३५ कलहरु प्राप्त भएको उनले बताए।

प्रयोगशालामा जम्मा रियल टाइम पीसीआर आजसम्मको १ लाख ३८ हजार ६ सय ८३ र आजको ५ हजार ३ सय ६ जनाको पीसीआर परीक्षण भएको उनले बताए। त्यस्तै आरडीटी आजसम्मको २ लाख १९ हजार ३ सय ३६ र आजको ८ हजार ६ सय १५ रहेको उनले बताए।

 

 

यसैगरी क्वारेन्टिनमा १ लाख ३३ हजार ८ सय २९ जना रहेका छन् भने आइसोलेसनमा ५ हजार १ सय ५१ जना संक्रमित रहेको डा. गौतमले जानकारी दिए।

कोभिड १९ बाट संक्रमणमुक्त भई २४ घण्टामा ६७ जना डिस्चार्ज भएका छन्। त्यसमध्ये ७ महिला र ६० जना पुरुष रहेका छन्।

कोभिड १९ अस्पताल जनकपुरबाट २४ पुरुष, पाटन अस्पताल ललितपुरबाट ३ महिला १ पुरुष, कोभिड १९ युनिफाइड कमान्ड अस्पताल बलम्बुबाट २ महिला, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालबाट १ महिला र १ पुरुष, कलैया अस्पताल बाराबाट ६ पुरुष, साई कृष्ण आइसोलेसन सप्तरीबाट १७ जना पुरुष, कोरोना विशेष अस्पताल बेलझुण्डी दांगबाट १ महिला ११ पुरुष डिस्चार्ज भएका छन्।

हालसम्म डिस्चार्ज हुने संख्या १ हजार ४१ पुगेको गौतमले बताए। त्यसमध्ये महिला १ सय ४ जना र पुरुष ९ सय ३७ जना छन्।