काश्मीरमा आतङ्कवादी आक्रमण, भारत—पाकिस्तान सम्बन्ध चिसियो

न्हुच्छेनारायण डंगोल ।

भारत प्रशासित कश्मीरमा एक गाडीको लस्करमा भएको लडाकु हमलामा कम्तीमा ४० जना अर्धसैनिक मारिएपछि भारत र पाकिस्तानबीचको सम्बन्ध झन् चिसिएको छ । प्रहरीले जनाए अनुसार विस्फोटक पदार्थले भरिएको एउटा कार अर्धसैन्य बलका जवान बोकेको बससँग ठोक्काइएको थियो । पाकिस्तानस्थित इस्लामिक समूह जैश ए मोहम्मदले उक्त हमलाको जिम्मेवारी लिएको छ।
सन् २०१६ मा भारतीय सैन्य क्याम्प उरीमा भएको हमलापछि सुरक्षा फौजमाथि भएको यो सबैभन्दा ठूलो रक्तपातपूर्ण हमला हो । उक्त हमला, श्रीनगर शहरभन्दा २० किलोमिटरको दूरीमा बाक्लो सैन्य उपस्थिति हुने श्रीनगर जम्मु राजमार्गमा भएको हो । हमलामा कैयौँ व्यक्ति घाइते भएका छन्।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी र प्रतिपक्षी भारतीय राष्ट्रिय कँग्रेसका अध्यक्ष राहुल गान्धीले घटनाको भर्सना गरेका छन् । आत्मघाती हमला पछाडि आफूहरू रहेको भन्दै जैश ए मोहम्मदले एक वक्तव्यमार्फत आक्रमणको जिम्मा लिएको छ ।

सन् २०१६ को सेप्टेम्बर महिनामा भारतको उरीमा भएको एक लडाकु हमलामा १७ जना भारतीय सेनाको मृत्यु भएको थियो । जसलाई पछिल्ला दुई दशकमा भएको सबैभन्दा भयानक हमला मानिएको थियो । दिल्लीले त्यसमा पाकिस्तानलाई दोषी देखाए पनि उसले भने त्यो अस्वीकार गर्दै आएको छ । भारत र पाकिस्तान दुवैले मुस्लिम बाहुल्यता रहेको कश्मिरलाई आफ्नो दावी गर्छन् तर केही क्षेत्रमा मात्र आफ्नो नियन्त्रण राख्छन् । दुवै देशहरू अहिलेसम्म तीनवटा युद्ध र थुप्रै द्वन्दमा भिडेका छन् र एउटा बाहेक ती सबै कस्मिरमाथि छन्।

भारत र पाकिस्तानले आ आफ्नो स्वतन्त्रताको ७० वर्ष मनाउँदै गर्दा ब्रिटिश इन्डियाको विभाजनले अहिलेसम्म पारिरहेको प्रभाव, र दुई मुलुकको जन्मसँग जोडिएको उथलपुथल र चोटबारे चर्चा सेलाएको छैन । दिल्लीबाट इस्लामावाद जम्मा ७०० किलोमिटर टाढा छ । यो लण्डन र जेनेभाबीचको दूरीभन्दा पनि कम हो ।भारतीय राजधानीबाट पाकिस्तानी राजधानीसम्म सीधा यात्रा गर्न सकिँदैन । यी दुई राजधानीबीच सीधा उडान छैनन् । यो, सात दशकयताको आपसी आशंका र तनावको एउटा सानो उदाहरण मात्रै हो।
बेलायती उपनिवेश अन्त्यसँगै दुईवटा नयाँ स्वतन्त्र मुलुकको जन्म भयो—भारत र पाकिस्तान । यस युद्धमा करिब १ करोड २० लाख मानिस शरणार्थी भए । धार्मिक दंगामा मारिने मानिसको संख्या ५ लाखदेखि १० लाखको बीचमा थियो । दशौं हजार महिला अपहृत भए।
भारत र पाकिस्तान केही साताअघि च्याम्पियन्स् ट्रफीको उपाधिका लागि भिडेका थिए । दुवै देशमा क्रिकेट असाध्यै लोकप्रिय छ । तर त्यो खेल दक्षिण एसियामा नभई लण्डनमा भएको थियो । भारत र पाकिस्तान एकअर्काको भूमिमा क्रिकेट खेल्दैनन् । तथापि उनीहरु संसारका विभिन्न भागमा एकदिवसीय प्रतिस्पर्धामा उत्रिएका छन् । संस्कृति र इतिहास मिल्दोजुल्दो भएको भएपनि उनीहरु केवल प्रतिस्पर्धी मात्रै होइनन् , दुश्मन झैं छन्।

भारत र पाकिस्तानले स्वतन्त्रता पाएको ७० वर्षमा उनीहरुले तीनवटा युद्ध लडिसकेका छन् । सन् १९९९ मा जब ती दुई मुलुकका सेनाले अन्तिमपटक लडेका थिए, त्यतिबेला युद्धको औपचारिक घोषणा भएको थिएन । भारत र पाकिस्तानबीचको तनाव संसारकै सबैभन्दा लामो भूराजनीतिक तनाव हो । यसका कारण दुवै मुलुकले आ आफ्नो पारमाणविक अस्त्र विकास गरेका छन् । यो असजिलो तनाव क्षेत्रीय विवादभन्दा बढी जस्तो देखिन्छ । यो बृहत खतराले भरिएको छ।

भारत र पाकिस्तानले एकै समयमा स्वतन्त्रता पाएका हुन् ।भारतमाथिको ब्रिटिश शासन सन् १९४७ अगस्ट १५ मा समाप्त भयो।महिनौं लामो राजनीतिक गतिरोधपछि ब्रिटेनले मुलुकलाई दुई भागमा विभाजन गर्ने सहमति जनायो । ठूलो संख्यामा रहेका मुसलमान अल्पसंख्यकहरु हिन्दु बाहुल्य भारतमा अप्ठ्यारोमा पर्न सक्ने भन्ने चिन्ता सम्बोधन गर्न छुट्टै र मूलतः मुसलमान राष्ट्र पाकिस्तान सिर्जना गरियो । पञ्जाब र बंगालजस्ता भारतका सबैभन्दा ठूला प्रान्त पनि विभाजनमा परे । स्वतन्त्रताको दुई दिनपछि मात्रै नयाँ अन्तर्राष्ट्रिय सिमाना कहाँ पर्छ भन्ने विस्तृत खाका सार्वजनिक गरियो । विभाजनले आधुनिक समयको सबैभन्दा ठूलो सङ्कट निम्त्यायो । एउटा पीडादायी रक्तपातमा मुख्य मुख्य समुदायका व्यक्तिहरु दुवै आक्रमणकारी र पीडित थिए । यसका लागि कसैलाई जिम्मेवार पनि बनाइएन।

मेलमिलाप प्रक्रिया पनि भएन । तर के भएको थियो भन्ने विषय लामो समयसम्म मौनतामै हरायो ।के भएको थियो भन्नेबारे चलचित्र र साहित्यमा प्रतिविम्बित भयो । इतिहासविद्हरु शुरुमा विभाजन वरपरको राजनीतिमा केन्द्रित भए । धेरैपछि मात्रै उनीहरु मानिसहरुले विभाजनताका भोग्नुपरेको पीडामा केन्द्रित भए । विभाजनले भारत र पाकिस्तानको सम्बन्ध विषाक्त बनायो र समग्र दक्षिण एसियाको भूराजनीतिलाई असर पार्यो ।

सन् १९७१ मा भारतीय सेनाको सहयोगमा पूर्वी पाकिस्तानले स्वतन्त्रता पायो । अर्को नयाँ मुलुक बांग्लादेशको जन्म भयो । भारत र पाकिस्तान स्वतन्त्रतापछिको अर्को समस्या कश्मिर थियो । मुसलमान बाहुल्य उक्त राज्यका महाराजा, जो हिन्दु थिए, उनले कश्मिर भारतको अंश हुनुपर्ने निर्णय गरे । केही महिनामै भारतीय र पाकिस्तानी फौज कश्मिरको नियन्त्रणका लागि लडाइँमा उत्रिए।
उक्त जटिल द्वन्द्व अहिलेसम्म पनि समाधान भएको छैन र अरु विषयभन्दा यसले दुई मुलुकबीचको सम्बन्धलाई बढी सताएको छ। भारतीय शहरहरुमा आतङ्कवादी शैलीमा हुने गरेका आक्रमणहरुमा संलग्न अतिवादी सङ्गठनहरुलाई पाकिस्तानले सघाइरहेको भारतले आरोप लगाउने गरेको छ।पाकिस्तानले पनि बलुचिस्तानमा भएका पृथकतावादी गतिविधिलाई भारतले साथ दिएको दावी गर्दै आएको छ । दुवै देशका नेताहरुले समयसमयमा भेटघाट गरे पनि समस्या समाधान गर्न सकेका छैनन् । सम्बन्धमा सकरात्मक मोड आउन लागेको बेलाबेलामा आशाहरु पनि जागे । तर अहिले भने सम्बन्ध निकै चिसो छ।