एचएसबीसीले ३५ हजार रोजगारी कटौतीको योजना

लन्डन (बेलायत) । बेलायती बहुराष्टिय बैंक एचएसबीसीले रोजगारी कटौतीको योजना ब्यूँताएको छ । कोरना भाइरसको भाइरसको महामारीबीच कर्मचारीहरुलाई राहत दिन भनेर स्थगित गरिएको कर्मचारी कटौती योजना पुनः जीवित गरिएको हो ।

आफूले देखेको एक मेमोमा यस्तो बताइएको भन्दै अन्तरराष्ट्रिय समाचार संस्था रोयटर्सले बुधवार समाचार छापेको छ । समाचार अनुसार मध्यकालीन अवधिमा कम्पनीले ३५ हजार कर्मचारीलाई कामबाट निकाल्ने छ ।

आन्तरिक भर्तीसमेत करीब– करीब बन्द गरिने विश्वभर रहेका २ लाख ३५ हजार कर्मचारीलाई पठाइएको एक मेमोमा बैंकका प्रमुख कार्यकारी नोएल कुइनले भने । आफूहरुले रोजगारी कटौतीलाई अनिश्चतकालको लागि थाँती राख्न नसक्ने उनको भनाइ छ ।

मेमोको विषयबारे बैंक प्रवक्ताले समेत पुष्टि गरेकी छिन् । एचएसबीसीले मार्चमा रोजगारी कटौतीको योजना स्थगित गरेको थियो ।

लागत कम गर्ने बृहत पुन : संरचनाको योजना अन्तर्गत बैंकले ती रोजगारी कटौतीको प्रस्ताव ल्याएको थियो । तर कोरोना भाइरसको महामारीको प्रतिकूल अवस्थामा कर्मचारीहरुलाई कामबाट निकाल्नु न्यायोचित नहुने भन्दै योजना थाँती राखिएको थियो ।

तर महामारी लम्बिदै गएसँगै मुनाफा घट्यो र भविष्यको आर्थिक परिदृश्य पन चुनौतीपूर्ण भएपछि कम्पनीले योजना ब्यूँताएको कुइनको भनाइ छ । वर्षको उत्तरार्द्धमा खर्च कटौतीका उपायहरु खोज्न आफूले शीर्ष कार्यकारीहरुलाई भनेको उनले बताए ।

मार्चयता एचएसबीसीको शेयर मूल्य २७ प्रतिशतले घटेको छ । महामारीका कारण बैंकले पहिलो त्रैमासको मुनाफामध्ये करीब ३ अर्ब डलर खराब कर्जा व्यवस्थाको लागि छु्ट्टयाएर राखेको छ ।

फेब्रुअरीमा घोषणा गरिएको पुन : संरचनाको योजनामा भने साढे ४ अर्ब डलर लागत कम गर्न बैंकले निजी बैंकिङ र सम्पत्ति व्यवसाय मर्ज गर्ने, यूरोपेली इक्विटी व्यवसायमा कटौती गर्ने, अमेरिकाको खुद्रा सञ्जाल घटाउने योजना ल्याएको थियो । एजेन्सी