लद्दाखमा चीन र भारतबीच भएको घटनाप्रति संयुक्त राष्ट्र संघद्वारा चिन्ता

जेनेभा । संयुक्त राष्ट्र संघले भारतीय र चिनियाँ सेनाबीच सोमवार लद्दाख उपत्याकामा भएको हिंसात्मक झडपप्रति चिन्ता व्यक्त गरेको छ ।

मंगलवार संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरसका तर्फबाट सहप्रवक्ता एरी कानेकोद्वारा जारी विज्ञप्तिमा गत सोमवारको घटनाप्रति चिन्ता व्यक्त गर्दे भारत र चीन दुवैलाई अधिकतम संयम अपनाउन भनिएको छ ।

‘लाइन अफ कन्ट्रोलमा भएका हिंसात्मक झडप र मृत्युका खबरप्रति हामी चिन्तित छौं र भारत तथा चीनलाई अधिकतम संयम अपनाउन आग्रह गर्दछौं,’ जारी विज्ञप्तिमा उल्लेख छ ।
साथै दुई देशबीच तनावलाई कम गर्न पछिल्ला दिनमा पुन : प्रयास शुरु हुनुलाई पनि सकारात्मक रुपमा लिएको समेत विज्ञप्तिमा उल्लेख छ ।

लद्दाखको गलवन उपत्यकामा भएको झडपमा परी एक अधिकृतसहित २० जना भारतीय सैनिकको मृत्यु भएको छ । तर चिनियाँ पक्षतर्फ भएको हताहतीको विवरण भने सार्वजनिक भएको छैन । सो घटनालाई लिएर हालैका दिनमा आएर एकले अर्कोलाई दोषारोपण गरिरहेका छन् ।

यसैवीच पेचिङस्थित विदेश मन्त्रालयका प्रवक्ता झाओ लिजियनले लद्दाखमा दुवै देशका सैनिकबीच भएको हिंस्रक झडपलाई लिएर गलवान उपत्यका क्षेत्रको संप्रभुता चीनसँग सम्वन्धित रहेको दावी गरेका छन् ।

साथै उनले चीन आगामी दिनमा कुनै पनि किसिमको झडपको पक्षमा नरहेको पनि बताएका छन् ।
उनले भारतीय सैनिकले आफ्नो सिमा प्रोटोकल उल्लंघन गरेको दावी पनि गरेका छन् । त्यसैगरी उनले वार्ताको माध्यमबाट विद्यमान समस्या समाधान गर्न चाहेको बताएका छन् ।

उक्त झडपमा भारतीय सैनिकको तर्फ एक जना उच्च अधिकारीसहित २० जनाको मृत्यु भएको छ तर चिनियाँ पक्षका सैनिकबीच कति जनाको हताहती भयो भन्ने बारे हालसम्म पनि कुनै सूचना सार्वजनिक भएको छैन । एजेन्सीहरुको सहयोगमा