व्यवसायिक मनोबल न्यूनस्तरमा ओर्लिएको

सिंगापुर । एशियाली कम्पनीहरुको व्यवसायिक मनोबल कीर्तिमानी न्यूनस्तरमा ओर्लिएको छ । अन्तरराष्ट्रिय समाचार संस्था थम्सन रोयटर्स र सिंगापुरस्थित विजनेश स्कूल इन्सिडले गरेको संयुक्त सर्वेक्षणले यस्तो देखाएको हो ।

कोभिड–१९ को महामारीको अवस्था बिग्रिएसँगै कम्पनीहरुको मनोबल खस्किएको हो । सर्वेक्षणअनुसार एशियाली व्यवसाय मनोबल सूचक दोस्रो त्रैमासमा एक तिहाईले घटेर ३५ मा आएको छ ।

यो सन् २००९ को दोस्रो त्रैमासमा सर्वेक्षण शुरु भएयताकै न्यून हो । कुनै पनि आर्थिक क्षेत्रको गतिविधि जनाउने सूचक ५० अंकभन्दा तल आएमा ती क्षेत्रमा संकुचन भइरहेको देखाउँछ ।

यस अघि सर्वेक्षण शुरु गरिएकै त्रैमासमा सूचक ५० अंक भन्दा तल आएको थियो । त्यतिबेला सूचक ४५ अंकमा थियो । सर्वेक्षणमा सहभागी ९३ कम्पनीहरुमध्ये करीब १६ प्रतिशतले आगामी ६ महिनाका लागि गहिरिदैं गइरहेको मन्दी प्रमख जोखिम भएको बताएका छन् ।

सहभगीमध्ये आधाभन्दा धेरैले कर्मचारीको संख्या र व्यवसायको आकारमा कमी आउने अपेक्षा गरेका छन् । सर्वेक्षण मे २९ र जुन १२ को बीचमा गरिएको थियो । अहिले सबै क्षेत्रमा मात्रै नभएर देशहरुबीच पनि निराशा व्याप्त रहेको बताइएको छ । कयौं हप्तासम्म नयाँ संक्रमण नदेखिएको चीनमा हालैका दिनमा दर्जनौं नयाँ संक्रमित फेला परेका छन् ।

शुरुमा संक्रमण नियन्त्रणमा सफल रहेको दक्षिण कोरियामा पनि संक्रमण बढेको छ । सर्वेक्षणमा एशिया–प्रशान्त क्षेत्रका ११ देशका कम्पनीहरु सहभागी थिए ।

सहभागीहरु मध्ये केही थाई आतिथ्य समूह माइनर इन्टरनेशनल, जापानी अटो निर्माता सुजुकी मोटर कर्पोरेशन, करारमा अन्य कम्पनीका लागि सामाग्री उत्पादन गर्ने ताइवानी कम्पनी विष्ट्रोन कर्पोरेशन आदि संलग्न थिए । एजेन्सी