एनआरएनएद्वारा दुई लाखको साहित्य पुरस्कार स्थापना

टेक्सस, असार ८ गते । गैरआवासीय नेपाली सङ्घले अन्तर्राष्ट्रिय साहित्य पुरस्कार स्थापना गरेको छ । पुरस्कारको राशि रु दुई लाख रहेको छ । सङ्घको नेपाली भाषा, साहित्य, संस्कृति तथा सम्पदा समितिले पुरस्कारका लागि आवश्यक प्रक्रिया अघि बढाउने भएको छ ।

 

 

समितिले पुरस्कारका लागि आवश्यक कार्यविधि निर्माण गर्ने समितिका सञ्चार संयोजक गौतम दाहालले जानकारी दिनुभयो । प्रत्येक दुई वर्षमा गैरआवासीय नेपालीले प्रकाशन गरेको कृतिमध्ये उत्कृष्ट कृतिमा छनोट हुने कृतिका रचनाकारलाई स्वर्ण पदकसहित पुरस्कार प्रदान गरिने दाहालले बताउनुभयो ।

 

 

साथै समितिले भानुभक्त आचार्यको जन्मजयन्ती पर्ने असार २९ लाई अन्तर्राष्ट्रिय नेपाली भाषा दिवसको रूपमा मनाउन विश्वभर रहने नेपालीमा आग्रहसमेत गरेको छ । रासस