संक्रमितको शव गाड्न रोक्नेमाथि पोखरामा गोली चल्यो ८ जना पक्राउ, सशस्त्रको गाडी तोडफोड

पोखरा
कोरोना संक्रमणबाट मृत्यु भएकाको शव व्यवस्थापनमा अवरोध गर्नेहरुलाई तर्साउन पोखरामा प्रहरीले हवाई फायर गरेको छ । संक्रमण भएर पोखराको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा उपचार गराइरहेका स्याङ्जाको अर्जुनचौपारी गाउँपालिकाका ५५ वर्षे पुरुषको बुधबार राति मृत्यु भएको थियो ।

पोखरा ३२ मा मजुवामा सेतीनदी किनारनजिककै खालि जमिनमा बिहीबार ती पुरुषको शव गाड्न लैजाँदा स्थानीयले अवरोध गरेका थिए । स्थानीयले आफ्नो गाउँठाउँमा शव गाड्न नदिने भन्दै सशस्त्र प्रहरीको गाडी नै तोडफोडसमेत गरेका छन् । सशस्त्रको गाडीको सिसा फुटेको छ । प्रहरीले ८ जनालाई नियन्त्रणमा पनि लिएको छ ।

शव गाड्न डोजरले खाल्डो खन्न लाग्दा स्थानीयले अवरोध गरेपछि ८ राउन्ड हवाई फायर गर्नुपरेको कास्की प्रहरीका प्रवत्ता डीएसपी सुवास हमालले बताए ।
स्याङ्जाका ती संक्रमित मधुमेह र नियोनियाका पनि बिरामी थिए । उनलाई उपचारका लागि ८ गते पोखरा ल्याइएको थियो । उनलाई कोरोना संक्रमणको पुष्टि पनि त्यसै दिन भएको थियो । त्यसअघि उनी गाउँमा सामाजिक कार्यमा सहभागी भएको बताइएको छ । उनको भने ट्राभल हिस्ट्री छैन ।

स्याङ्जाका यी संक्रमितको मृत्युसँगै गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु भएकाको संख्या २ पुगेको छ । यसअघि स्याङ्जाकै ५८ वर्षे पुरुषको २५ जेठमा मृत्यु भएको थियो । उनीचाहिँ भारतबाट आएका थिए ।

वालिङका ५८ वर्षेको शव व्यवस्थापनमा समेत लफडा भएको थियो । उनको शव पोखराको वडा नम्बर ११ र २० को साँधमा सेतीनदी किनारमा गर्दा स्थानीयले अवरोध गरेका थिए । त्यतिबेला पनि प्रहरीले केहीलाई पक्राउ गर्नुपरेको थियो । प्रदेश सरकारले बनाएको कोरोना संक्रमितको शव व्यवस्थापन सम्बन्धी कार्यविधिमा स्थानीय तहसँगको सहकार्य र समन्वयमा प्रशासनले शव व्यवस्थापन गर्ने उल्लेख छ । शव व्यवस्थापनमा नेपाली सेना, सशस्त्र र नेपाल प्रहरी खटिन्छन् ।