हुवावेलाई चिनियाँ सेनाको साथ भएको अमेरिकाको दाबी

असार ११ वासिङटन ।
अमेरिकाले प्रविधि कम्पनी हुवावेसहित चीनका अन्य २० कम्पनीमा चिनियाँ सेनाको स्वामित्व भएको अथवा ती कम्पनीलाई चिनियाँ सेनाको साथ भएको आरोप लगाएको छ।

 

 

अमेरिकी रक्षा विभागले हुवावेसहित हिकभिजन, चाइना टेलिकम, चाइना मोबाइल तथा एभीआइसी लगायतका कम्पनीहरुमा चिनियाँ सेनाको नियन्त्रण रहेको दाबी गरेको हो।

अमेरिकाले हुवावेलाई चिनियाँ सरकारको जासूसीको माध्यम भएको आरोप लगाइरहेको समयमा अमेरिकाले चीनका अन्य कम्पनीमाथि पनि प्रश्न गरेको हो।

 

 

अमेरिकाले हुवावेले सुरक्षा खतरा सिर्जना गर्ने चेतावनी दिँदासमेत बेलायतले हुवावेको फाइभ–जी प्रविधि प्रयोग गर्ने बताइसकेको छ।

अमेरिकी आग्रहमै हुवावेकी वित्तीय प्रमुख मेङ्ग वान्जुलाई सन् २०१८ को डिसेम्बरमा क्यानडाका प्रहरीले गिरफ्तार गरेका छन्। उनीमाथि हुवावेले अमेरिकी प्रतिबन्ध तोडेको बारे साथै हुवावे सुरक्षा खतरा हो होइन भन्नेबारे अनुसन्धान भइरहेको छ।

हुवावेले आफू एक स्वतन्त्र कम्पनी भएको बताउँदै आएको छ। प्रविधिको क्षेत्रमा हुवावेले ठूलो फड्को मारेपछि अमेरिकाले प्रतिशोध साध्न विभिन्न आरोपहरु लगाएको भन्ने विश्लेषण पनि हुने गरेको छ। एजेन्सी