सामाजिक सञ्जालमा विज्ञापन रोक्दै कोका–कोला

न्यूयोर्क (अमेरिका) । अमेरिकी हल्का पेय उत्पादक कम्पनी कोका–कोलाले सबै सामाजिक सञ्जालमा विज्ञापन रोक्ने भएको छ । कम्पनीले कम्तिमा ३० दिनसम्म विश्वव्यापी रुपमै विज्ञापन रोक्न लागेको हो । ‘हामीहरु आधिकारिक बहिष्कारमा आबद्ध भएका होइनौं, तर विज्ञापनमा विराम लगाएका हौं,’ कम्पनीले स्पष्ट पारेको छ ।

स्टप हेट फर प्रोफिट अभियान चलाइरहेका एक समूहले फेसबुकमा जुलाईको महीनाभर विज्ञापन खर्च रोक्न आह्वान गरेका थिए । यस क्रममा भेरिजोन, पाटागोनिया, नर्थ फेसलगायत ९० भन्दा धेरै कम्पनीहरुले फेसबुकमा विज्ञापन बन्द गरेका छन् ।

‘संसारमा रंगभेदको लागि कुनै ठाउँ छैन र सामाजिक सञ्जालमा पनि यसको लागि कुनै ठाउँ छैन,’ कोका–कोलाका प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेम्स क्विन्सेले एक विज्ञप्तिमा भने । कम्पनीले एक महीनाका लागि सबै सामाजिक सञ्जालहरुमा पैसा दिएर गरिने विज्ञापन रोक्ने समेत उनले बताए ।


यो अवधि विज्ञापन नीतिको पुनः मूल्यांकन गर्न प्रयोग गरिने उनको भनाइ छ । सामाजिक सञ्जाल साझेदारबाट आफूहरुले पनि उत्तरदायित्व र पारदर्शिताको अपेक्षा गरेको उनले बताए । बेलायती कञ्जुमर गूड्ज निर्माता कम्पनी युनिलिभरले पनि शुक्रवार फेसबुक, इन्ष्टाग्राम र ट्विटरमा डिसेम्बर ३१ सम्म विज्ञापन रोक्ने घोषणा गरेको थियो । लेभिज र डकर्सले पनि कम्तिमा जुलाईभर फेसबुक र इष्टग्राममा विज्ञापन रोक्ने घोषणा गरेका छन् । एजेन्सी