पाकिस्तानमा ३० प्रतिशतभन्दा धेरै पाइलट नक्कली !

असार १४, इस्लामावाद (पाकिस्तान) । पाकिस्तानमा ३० प्रतिशतभन्दा धेरै पाइलट नक्कली भएको बताइएको छ । त्यहाँका उड्य्यन मन्त्री गुलाम सर्वार खानले गत हप्ता यस्तो बताएका हुन् ।

उनका अनुसार त्यहाँका २६२ जना पाइलटहरुले पाइलटसम्बन्धि परीक्षा आफैंले दिएका होइनन्, आफ्नो तर्फबाट अरु कसैलाई जाँचमा बस्न पैसा दिएका छन् । ‘उनीहरुसँग उडानको अनुभव नै छैन,’ खानले भनेका छन् । यिनीहरु नक्कली भएको र विमान उडाउने योग्यता नभएको समेत उनले बताए ।

 

 

पाकिस्तानमा घरेलु विमान सेवा कम्पनी र केही विदेशी विमान सेवा प्रदायकमा समेत गरेर ८६० जना सक्रिय पाइलट छन् । सरकारी स्वामित्वको विमान सेवा कम्पनी पाकिस्तान इन्टरनेशनल एयरलाइन्स (पीआईए)ले नक्कली लाइसेन्स भएका सबै पाइलटहरुलाई तत्कालै लागू हुने गरी कामबाट निकालिदिएको छ ।

 

 

‘नक्कली लाइसेन्स पीआईएको मात्रै समस्या होइन्, यो समस्या समग्र पाकिस्तानी हवाई सेवा प्रदायक उद्योगभर व्याप्त छ,’ पीआईएका प्रवक्ता अब्दुल्लाह खानले भने । केही नक्कली पाइलटहरुले विदेशी विमान सेवा प्रदायकका लागि विमानसमेत उडाइरहेको उनको भनाइ छ ।

मे २२ मा दक्षिणी शहर कराँचीमा ९७ जनाको ज्यान जाने गरी भएको विमान दूर्घटनाको प्रराम्भिक प्रतिवेदन गत हप्ता सार्वजनिक भएको थियो ।

दूर्घटनाग्रस्त सो विमानका चालक नक्कली लाइसेन्स वाहक थिए कि भन्नेबारे भने खानले केही पनि बताएका छैनन् । प्रतिवेदनअनुसार पाइलटले कोरोना भाइरसबारे कुरा गरिरहेका थिए र एयर ट्राफिक कन्ट्रोलले दिएको चेतावनी बारम्बार वेवास्ता गरिरहेका थिए । फलत : विमान दूर्घटना भयो । एजेन्सी