चीनमा फेला पर्‍यो विश्वव्यापी महामारी बन्न सक्ने नयाँ फ्लू भाइरस

पेचिङ (चीन) । चीनमा गत वर्षको डिसेम्बरबाट शुरु भएको कोरोना भाइरसको विश्वव्यापी महामारी अहिलेसम्म पनि हटेको छैन । अनुसन्धाताहरुले त्यहाँ विश्वव्यापी महामारी बन्ने सम्भावना भएको नयाँ फ्लू भाइरस फेला परेका छन् । चिनियाँ सुँगुरहरुमा एक खालको नयाँ फ्लू भाइरस भेटिएको छ । यो भाइरसले मानिसलाई संक्रमित बनाउन सक्ने अध्ययनले देखाएको छ ।

स्थानीय अनुसन्धाताहरुको एक समूहले सन् २०११ देखि सन् २०१८ को बीचमा सुँगुरमा पाइएको इन्फ्लुएन्जाको अध्ययन गरेका थिए । भाइरसमा महामारी बन्न सक्ने कही गुणहरु पाइएको छ । अध्ययनको प्रतिवेदन अमेरिकी जर्नल प्रोसिडिङ्स अफ द नेशनल अकादेमी अफ साइन्सेज (पीएनएएस)मा प्रकाशित भइसकेको छ । सुँगुर पालकहरुको शरीरमा भाइरसको स्तर बढेको प्रतिवेदनका लेखकले बताएका छन् । सुँगुर पालन उद्योगमा काम गर्ने मानिसहरुलाई निगरानीमा राख्न समेत प्रतिवेदनले सुझाएको छ ।

उक्त भाइरसको संरचना परिवर्तन हुनसक्ने भएकाले चीनको घना बस्ती भएको क्षेत्रमा मानिसबाट मानिसमा सर्ने अनुसन्धाताहरुले बताएका छन् । सुँगुर फारम, प्रजनन केन्द्र, बधशाला र मासु पसलमा काम गर्ने लाखौं मानिसहरु भाइरसको चपेटामा आउन सक्ने र यो क्रमशः विश्वभरि फैलिने हो कि भनेर अनुसन्धानकर्ताहरू चिन्तित छन् । भाइरस अहिलेको लागि समस्या नभए पनि यसमा मानिसलाई संक्रमण गर्न आवश्यक सबै गुण भएकाले चनाखो हुनुपर्ने यूनिभर्सिटी अफ वाशिङटनमा बायोलोजिष्ट कार्ल बर्गस्ट्रोम बताउँछन् ।

भाइरस नयाँ भएकाले मानिसहरूमा त्यसलाई प्रतिरोध गर्न न्यून वा शून्य क्षमता रहेको प्रतिवेदनमा भनिएको छ । नयाँ भाइरस सन् २००९ मा देखा परेको स्वाइन फ्लूसँग मिल्दो जुल्दो भएपनि यसमा केही भिन्नताहरू छन् । भाइरसलाई अनुसन्धानकर्ताहरुले जीफोर एनवनएनवनको संज्ञा दिएका छन् ।

भाइरस मानिसको श्वासनलीमा भएका कोषमा बढ्न र फैलिन सक्छ । अहिले उपलब्ध फ्लूका खोपहरू यो भाइरसविरुद्ध प्रभावकारी छैनन् । अहिले विश्वको सारा ध्यान कोरोना भाइरसमा मोडिएको भएपनि सम्भावित खतरनाक नयाँ भाइरसलाई बेवास्ता गर्नु नहुने बेलायतमा नटिङघम यूनिभर्सिटीका प्राध्यापक किन–चाउ चाङले भनेका छन् । एजेन्सी