भारतमा टिकटकलगायत ५ दर्जन एपमाथि प्रतिबन्ध

नयाँ दिल्ली (भारत) । भारत सरकारले करीब ५ दर्जन चिनियाँ मोबाइल एपमाथि प्रतिबन्ध लगाएको छ । सुरक्षासँग सम्बन्धी चिन्तातर्फ औंल्याउँदै सूचना प्रविधि मन्त्रालयले टिकटक समेत ५९ ओटा एपमा प्रतिबन्ध लगाएको हो ।

यी एपहरु भारतको सार्वभौमिकता र अखण्डता, प्रतिरक्षा, राज्यको सुरक्षा र सार्वजनिक व्यवस्थामा खलल पुर्‍याउने गतिविधिमा संलग्न रहेको मन्त्रालयको भनाइ छ । सूचना प्रविधि कानूनको धारा ६९ए को प्रयोग गर्दै सो प्रतिबन्ध लगाएको हो । चाँडै नै भारतमा गुगल प्ले स्टोर र एप्पलको एप स्टोरबाट प्रतिबन्ध लगाइएका एपहरु डाउनलोड गर्न नमिल्ने हुनेछन् ।

टिकटक चिनियाँ प्रविधि कम्पनी बाइटडान्सको स्वामित्वमा रहेको एप हो । आवाज वा संगीतमा अभिनय गरेर स–साना भिडियो बनाउन मिल्ने यो एपको पछिल्लो समय विश्वभर लोकप्रियता बढेको छ । अप्रिलमा यसको डाउनलोड २ अर्ब नाघेको थियो । भारतमा यसको निकै ठूलो बजार छ ।

कुल मध्ये करीब ३० प्रतिशत डाउनलोड भारतमा भएका हुन् । यसअघि पनि गत मेमा भारतले टिकटकमा प्रतिबन्ध लगाएको थियो । टिकटकले अश्लील र अनुचित सामग्रीलाई प्रश्रय दिएको भन्दै मद्रासको उच्च अदालतले प्रतिबन्ध लगाउन केन्द्र सरकारलाई आदेश दिएको थियो । तर पछि कम्पनीले यो निर्णयको विरुद्ध अपिल गरेपछि भने फैसला उल्ट्याइएको थियो ।

पछिल्लो पटक प्रतिबन्ध लगाउने एपको सूचिमा टिकटकसँगै मेसेजिङ एप विच्याट, ट्विटरको चिनियाँ संस्करण वेपो, पाइतु म्याप, एमआई भिडियो कल, वि मिट, पाइतु ट्रान्सलेटर, आदि समेत परेका छन् । चीनसँग भू- राजनीतिक तनाव बढेकै बेलामा भारतले यस्तो कदम चालेको हो । यसै महीना दुई देशबीचको सीमामा दुई पक्षका सेनाबीच झडप हुँदा २० भारतीय सैनिकको मृत्यु भएको थियो । एजेन्सी