२० हजार डलरको कोषको घोषणा गर्दै तामाङ समाज अमेरिकाको दोस्रो वार्षिकोत्सव सम्पन्न ।

विनिता तामाङ

यही जून २८, २०२० का दिन तामाङ समाज अमेरिकाले आफ्नो दोस्रो वार्षिकोत्सव मनाएको छ ।

न्युयोर्कको लंग आइलेन्ड स्थित भ्याली स्ट्रिम पार्कमा संस्थाका कार्य समितिका पदाधिकारी एवं सदस्यका परिवारहरू बिच दोस्रो वार्षिकोत्सव सम्पन्न भएको थियो। संस्थाका महासचिव विनीता तामाङको भनाइ अनुसार विश्वव्यापी कोरोना महामारीको कारण समुदायको स्वास्थ्य स्थितिलाई मध्यनजर गर्दै दोस्रो वार्षिकोत्सव कार्यक्रम सीमित घेराभित्र रहेर सम्पन्न गरिएको थियो।
पारिवारिक जमघटमा बारबिक्यु सहित सम्पन्न दोस्रो वार्षिकोत्सवको अवसर परेर संस्थाका अध्यक्ष सानुमाया तामाङले शीघ्र भविष्यबाट कार्यान्वयन हुने गरेर २० हजार अमेरिकी डलर बराबरको “लोकसेवा परीक्षा उत्प्रेरणा कोष” तामाङ समाज अमेरिकाले नेपालमा सञ्चालन गर्ने घोषणा गरेका छन् । अध्यक्ष सानुमाया तामाङको अनुसार नेपालको निजामती क्षेत्रमा तामाङ जातिको अत्यन्तै नगन्य मात्रामा उपस्थिति रहेको सन्दर्भमा लोकसेवा परीक्षा मार्फत निजामती सेवामा प्रवेश गर्न चाहने तामाङ विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्ने उद्देश्यले यो कोष स्थापना गरिएको बताएका छन् । यो परियोजना नेपालको स्थानीय संस्थासँग सहकार्य गरेर सञ्चालन गरिने बताइएको छ ।

कोषको लागि दोस्रो वार्षिकोत्सवकै दिन उपस्थित सहभागीहरूबाट १२,५०० अमेरिकी डलर सङ्कलन भएको र बाँकी अपुग रकम संस्थाका शुभचिन्तकहरूबाट सङ्कलन गरिने कोषाध्यक्ष तुलबहादुर तामाङले जनाएका छन् । कार्य समितिको आगामी बैठकबाट कोष सञ्चालनको लागि एउटा विशेष समिति गठन हुने र कोष सञ्चालनको विधि र प्रक्रिया सो समितिले तयारी गरेर कार्य समितिले अनुमोदन गरेपछि “लोकसेवा परीक्षा उत्प्रेरणा कोष” को विस्तृत जानकारी समुदायलाई सम्प्रेषण गर्ने योजना रहेको संस्थाका सचिव रोज बहादुर घिसिङले बताएका छन् ।