कोरोनिलले कोभिड–१९ को उपचार गर्छ भन्ने दाबी नगरिएको रामदेवको प्रष्टिकरण

नयाँ दिल्ली (भारत) । केही दिन अघि मात्रै भारतीय योगगुरु रामदेवको आयुर्वेदिक कम्पनी पतञ्जली आयुर्वेदले कोभिड–१९ निको पार्ने औषधि बनाएको समाचार भारतीय सञ्चार माध्यमहरुले छापेका थिए ।

कोरोनिल नामक सो औषधि सार्वजनिक भएको केही समयमै भारत सरकाले यसको बजार प्रवर्द्धनमा रोक लगायो । यससँगै औषधिको विश्वसनियता र प्रभावकारीतामा प्रश्न उठाइयो, विवाद भयो । यस विवादबारे रामदेवले अन्ततः बुधवार मुख खोलेका छन् ।

आफूहरुले कोरोनिलले कोभिड–१९ निको पार्छ भन्ने दाबी कहिल्यै नगरेको उनको भनाइ छ । यद्यपि, क्लिनिकल परीक्षणहरुमा भने कोभिड–१९ का बिरामीहरुले कोरोनिलको सेवन गरेपछि रोग निको भएको थियो ।

‘क्लिनिकल परीक्षणका सबै कागजपत्रहरु आयुष मन्त्रालयलाई बुझाइएको छ, पतञ्जली र मन्त्रालयको बीचमा अहिले विचारमा कुनै मतभेद छैन,’ पत्रकार सम्मेलनमा रामदेवले भने । गत हप्ता पतञ्जलीले भर्खरै परीक्षण गरिएको औषधिले कोभिड–१९ निको पार्ने घोषणा गरेको थियो ।

कम्पनीको सो अभिव्यक्ति लगत्तै आयुष मन्त्रालयले कम्पनीको उत्पादनलाई कोभिड–१९ को उपचारमा अनुमति नदिएको बताएको थियो । ‘पतञ्जली रिसर्च फाउन्डेशनले कोभिड–१९ को व्यवस्थापनमा काम गरेकोमा मन्त्रालयले स्वीकार गरेको छ,’ रामदेवले भनेका छन् ।

दिब्य कोरोनिल ट्याबलेटलाई कोरोनाको औषधिको रुपमा विक्री गर्ने अनुमति नदिइने आयुष मन्त्रालयले बताएको छ । यद्यपि, यसलाई रोग प्रतिरोधात्मक क्षमता बर्द्धककाका रुपमा भने बेच्न दिइने बताइएको छ । औषधिको विज्ञापन र प्रचार प्रसार पनि यही अनुरुप गर्नु पर्ने बताइएको छ । एजेन्सी