१५ हजार कर्मचारीलाई कामबाट निकाल्दै एयरबस

पेरिस (फ्रान्स) । यूरोपेली विमान निर्माता कम्पनी एयरबसले १५ हजार रोजगारी कटौती गर्दैछ । कोरोना भाइरसको महामारीका कारण उत्पन्न संकटको प्रभावसँग जुध्न कम्पनीले यस्तो कदम चालेको हो ।

बेलायतमा मात्रै यसले १ हजार ७ सय कर्मचारी निकाल्दैछ । जर्मनी स्पेन र अन्यत्र पनि रोजगारी कटौती गरिनेछ । यसबारे कर्मचारी संगठनसँग वार्ता हुने बताइएको छ । संगठनहरुले भने अनिवार्य कटौतीको विरोध गरिरहेका छन् ।

विश्वभर एयरबसमा करीब १ लाख ३४ हजार कर्मचारी कार्यरत छन् । यीमध्ये १० प्रतिशत बेलायतमा छन् । कर्मचारी कटौतीसम्बन्धी थप विवरण यसै हप्ताको अन्त्यमा आउने छ । रोजगारी कटौती टारेर टार्न नसकिने थियो ।

प्रश्न यसको पीडा कति गहिरो हुन्छ भन्ने मात्रै हो । कोभिड–१९ को महामारी विमान कम्पनीको लागि महाविपत्ति बनेको छ । अप्रिलमा विश्वको हवाई यात्रा ९० प्रतिशतभन्दा धेरैले घटेको थियो ।

हवाई यात्राको माग घटेपछि विमान कम्पनीहरुलाई बाँच्न धौं धौं भइरहेको छ । यस्तोमा उनीहरु नयाँ विमान किन्ने त कुरै भएन । फलतः एयरबसले उत्पादन पनि घटाएको छ । घोषणा गरिएको रोजगारी कटौती आगामी वर्षको गर्मीयामसम्म पूरा हुने बताइएको छ ।

अधिकांश कटौती स्वेच्छिक वा कर्मचारीहरुका चाँडै सेवा निवृत्तिमार्फत हुने अपेक्षा गरिएको छ । हालैका महीनामा कम्पनीको उत्पादन ४० प्रतिशतले घटेको छ । छिटोमा सन् २०२३ सम्ममा हवाई यात्रा महामारीपूर्वको स्तरमा फर्किने अपेक्षा कम्पनीले गरेको छैन ।

कम्पनीले अहिलेसम्मकै गम्भीर संकटको सामना गरिरहेको एयरबसका प्रमुख कार्यकारी गुलियम फरी भन्छन् । कम्पनीले अहिलेसम्म अपनाएको उपायहरुले महामारीका शुरुआती झट्का सोस्न मद्दत गरेको भएपनि संकटबाट स्वस्थ्य रुपमा शीर्ष विमान निर्माताको रुपमा कसरी उब्रिने भन्ने सुनिश्चित गर्नु पर्ने भएको उनको भनाइ छ । हालैका दिनमा विमान सेवा प्रदायकहरुले पनि भटाभट कर्मचारी कटौती गरिरहेका छन् । एजेन्सी