३४ करोड फूल टाइम रोजगारी गुम्छ : आईएलओ

न्यूयोर्क (अमेरिका) । यस वर्षको उत्तरार्द्धमा कोभिड–१९ अर्को चरणको संक्रमण देखा पर्‍यो भने विश्वको कार्य घन्टा ११ दशमलव ९ प्रतिशतले गुम्ने चेतावनी अन्तरराष्ट्रिय श्रम संगठन (आईएलओ) ले दिएको छ । यो भनेको ३४ करोड फूल टाइम रोजगारी गुमे बराबर भएको संगठनको भनाइ छ ।

आईएलओ मनिटरः कोभिड–१९ को पाँचौं संस्करण अनुसार यस वर्षको बाँकी अवधिमा विश्वको श्रम बजारमा पुर्नबहाली अनिश्चित र अपूरो छ । यस वर्षको दोस्रो त्रैमासमा विश्वको कार्य घन्टामा १४ प्रतिशतको कमी आएको थियो । यो भनेको ४० करोड फूल टाइम रोजगारी बराबरको हो । यस वर्षको पूर्वार्द्धमा विश्वभर कार्य घन्टामा आएको कमी यस अघि अनुमान गरिएकोभन्दा निकै धेरै रहेको छ ।

स्थिति राम्रो हुँदा समेत उत्तराद्र्धमा हुने अनुमान गरिएको अति नै अनिश्चित पुर्नबहाली महामारी पूर्वको स्तरमा पुग्न पर्याप्त नहुने चेतावनी संगठनले दिएको छ । निराशानजनक स्थितिमा भने वर्षको दोस्रो अर्धवार्षिक अवधि दोस्रो त्रैमासजत्तिकै चुनौतीपूर्ण हुनेछ ।

पहिलो त्रैमासमा सिकिएको पाठका आधारमा अति नै राम्रो नीतिगत प्रतिक्रिया आयो भने पनि वर्षको अन्त्यसम्ममा विश्वको कार्य घन्टामा ११ दशमलव ९ प्रतिशतको कमी आउनेछ । यो गत वर्षको चौथो त्रैमासको तुलनामा करीब ३४ करोड फूल टाइम रोजगारी बराबर हो ।

निराशाजनक स्थितिमा दोस्रो चरणको महामारी आउने र पुनः लागू हुने प्रतिबन्धले पुर्नबहाली उल्लेख्य रुपमा सुस्त बनाउँछ भन्ने अनुमान गरिएको छ । सकारात्मक स्थितिमा भने कामदारहरु छिट्टै काममा जाने, उल्लेख्य रुपमा माग बढ्ने र रोजगारी सृजना हुन्छ भन्ने अनुमान गरिएको छ । अति नै तीव्र पुर्नबहाली भयो भने विश्वको कार्य घन्टामा आएको कमी १ दशमलव २ प्रतिशतमा झर्नेछ ।

यो भनेको ३ करोड ४० लाख फूल टाइम रोजगारी बराबर मात्रै हो । संगठनले पुनर्बहालीका सम्भावित तीन परिस्थिति देखाएको छ । तर यी मध्ये कुनैले पनि विश्वको श्रम बजार लकडाउनका उपायहरु लागू हुनु भन्दा अगाडिको भन्दा राम्रो नहुने देखाएको छ । रासस/पीटीआई