अमेरिकाले किन्यो गिलियाडको सबै रेम्डेसिभिर औषधि

असार १८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकाले कोरोना भाइरसको उपचारको लागि भनेर घरेलु औषधि निर्माता कम्पनी गिलियाडले उत्पादन गर्न थालेको सबै रेम्डेसिभिर औषधि किनेको छ ।

कम्पनीले तीन महीनाको अवधिमा उत्पादन गर्न थालेको ५ लाख डोज औषधि स्वास्थ्य मन्त्रालयले घरेलु अस्पतालमा प्रयोग गर्नका लागि किन्न सहमति गरेको हो ।

 

 

परीक्षणहरुले रेम्डेसिभिरले बिरामीहरुमा संक्रमणको लक्षण अलि चाँडै निको हुने देखाएपछि अमेरिकाले कोभिड–१९ का बिरामीमा सो औषधि प्रयोग गर्न अनुमति दिएको थियो । यसले बिरामीको ज्यान बचाउने दर सुधार्छ भन्ने चाँहि स्पष्ट भइसकेको छैन ।

गिलियाडले गत मेमा अमेरिका बाहिर औषधि उत्पादन गर्न लाइसेन्सिङ सम्झौतामा हस्ताक्षर गरेको थियो । अमेरिकामा यो औषधि प्रयोग गरेर कोभिड–१९ का एक बिरामीको उपचार गर्न करीब २ हजार ३४० अमेरिकी डलर खर्च लाग्नेछ ।

 

 

अमेरिका बाहिर भने विश्वका १२७ सबैभन्दा गरीब देशमा वितरण गर्नका लागि भारत, बंगलादेश लगायत केही देशका नौ कम्पनीलाई लाइसेन्स दिइएको छ । यी कम्पनीहरुले बनाएको औषधि भने निकै सस्तो पर्ने । तर यी परियोजनाहरु शुरुआती चरणमा रहेका छन् । क्लिनिकल परीक्षणमा प्रयोग गर्नका लागि अतिरिक्त मात्रा उत्पादन भइरहेका छन् ।

रेम्डेसिभिरको क्लिनिकल परीक्षणमा अन्य देश पनि सहभागी भएका थिए । तर अमेरिकाले गिलियाडले बनाएको औषधि लगभग सबै किनेर कोभिड–१९ मा अन्तरराष्ट्रिय सहकार्यलाई वेवास्ता गरेको आलोचकहरुले बताएका छन् ।

कोभिड–१९ को उपचारका लागि अमेरिका लगायत विश्वका कयौं देशले रेम्डेसिभिरको प्रयोग गर्ने अनुमति दिएका छन् । अमेरिकाको पछिल्लो कदमका कारण आगामी तीन महीनासम्म अन्य देशका लागि औषधिको आपूर्ति अभाव हुनेछ । एजेन्सी