विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बन्यो टेस्ला

असार १८, वाशिङटन डीसी (अमेरिका) । अमेरिकी विद्युतीय कार निर्माता कम्पनी टेस्ला विश्वको सबैभन्दा मूल्यवान अटो कम्पनी बनेको छ । बुधवार जापानी कार निर्माता कम्पनी टोयोटालाई उछिन्दै टेस्ला विश्वकै सर्वाधिक मूल्यवान कम्पनी बनेको हो ।

 

 

बुधवार कम्पनीको शेयर मूल्य प्रतिकित्ता ४ प्रतिशतले बढेसँगै बजार पूँजीकरण २ खर्ब ७ अर्ब २० अर्ब डलरमा पुगेको थियो । तर टोयोटाको शेयर मूल्य भने १ प्रतिशतले घटेर बजार पूँजीकरण २ खर्ब ३ अर्ब डलरमा समेटिएको थियो ।

 

 

कम्पनी शेयर बजारमा सूचीकृत भएको १० वर्षमै टेस्ला यो स्थानमा पुगेको हो । सन् २०१० मा आईपीओ जारी हुँदा कम्पनीको प्रतिकित्ता शेयर १७ डलर थियो । पछिल्लो समय यसको शेयर मूल्य १ हजार १ सय डलर आसपास रहेको छ ।

गत वर्षको जुनयता मात्रै टेस्लाको शेयर ५१० प्रतिशतले बढेको छ । गत वर्ष टेस्लाले ३ लाख ६७ हजार ६५६ थान कार बेचेको थियो । तर टोयोटा, फक्सवागन, हुण्डाई, जनरल मोटर्स, निशान र होण्डा लगायत अन्य प्रतिद्वन्द्वी कम्पनीहरुले वार्षिक रुपमा ५० लाखदेखि १ करोड थानसम्म कार बेचिरहेका छन् ।

हालैका त्रैमासहरुमा टेस्ला मुनाफामा गएको भएपनि यसले अहिलेसम्म पूूर्ण वार्षिक मुनाफा कमाउन सकेको छैन । कोरोना भाइरसको महामारीबीच कम्पनीको शेयर पहिलो पटक हजार डलरमाथि पुगेको थियो । शेयर मूल्य १ हजार ५०० डलरसम्म आउने केही विश्लेषकहरुले बताएका छन् । एजेन्सी