एमाजनका मालिक बेजोसले तोडे आफ्नै कीर्तिमान

असार २०, सन फ्रान्सिस्को (अमेरिका) । कोरोना भाइरसको महमारीले विश्वभर प्रभावित नहुने कोही पनि छैन ।

विगत केही महीनायता औंलामा गन्न सकिने केही चिजलाई मात्रै भाइरसले प्रभाव नपारेको हामीले देखेका छौं । यीमध्ये एक चिज हो अमेरिकी अनलाईन खुद्रा विक्रेता कम्पनी एमाजनका मालिक तथा विश्वकै सबैभन्दा धनी जेफ बेजोसको नेट वर्थ ।

 

 

शुक्रवार बेजोसको सम्पत्तिले १ खर्ब ७२ अर्ब डलरको नयाँ कीर्तिमान छोएको छ । ब्लुम्बर्ग बिलेनियर्स इन्डेक्सअनुसार बेजोसको सम्पत्ति अहिले पूर्व पत्नी म्याकिन्जे बेजोसलाई पारपुचुके दिनुपूर्वको स्तरभन्दा माथि छ । सम्बन्ध बिच्छेद गर्दा बेजोसले म्याकिन्जेलाई एमाजनमा रहेको आफ्नो एक चौथाई हिस्सा दिएका थिए ।

 

 

बिहीवारको कारोबारमा एमाजनको शेयर मूल्य ४ प्रतिशतले बढेर प्रतिकित्ता २ हजार ८७९ डलरमा पुगेको थियो । यस अघि बेजोसको सम्पत्ति सन् २०१८ को सेप्टेम्बरमा १ खर्ब ६८ अर्ब डलरमाथि पुगेको थियो । महामरीबीच अमेरिकासमेत विश्वभर आर्थिक मन्दी चलिरहेको छ ।

कोभिड–१९ का कारण अनलाईन मञ्चमा वस्तुको डेलिभरीको माग बढेको छ । संक्रमण बीच कर्मचारीहरुको सुरक्षा लगायत विषयमा चिन्ता, प्रदर्शन र गुनासाहरु बढिरहेको भएपनि यसले कम्पनीको शेयरमा भने खासै असर पारेको छैन ।

ब्लुम्बर्गको बिलेनियर्स इन्डेक्सअनुसार यस वर्षको अहिलेसम्मको अवधिमा बेजोसको सम्पत्ति ५७ अर्ब ४० करोड डलर बढेको छ ।

हाल एमाजनमा बेजोसको १२ प्रतिशत अर्थात् ५ करोड ७० लाख कित्ता शेयर छ । यस वर्षको अहिलेसम्मको अवधिमा एमाजनको शेयर ५६ प्रतिशतले बढिसकेको छ ।

कम्पनीको शेयरमा भएको वृद्धिसँगै म्याकिन्जेको नेटवर्थ पनि पछिल्लो समय बढेर ५७ अर्ब डलरमा पुगेको छ । सम्बन्ध बिच्छेद गर्दा उनले पाएको सम्पत्तिको तुलनामा यो २० अर्ब डलर धेरै हो । यो नेटवर्थसँगै म्याकिन्जे विश्वमै १२ औं धनी व्यक्ति बनेकी छिन् । एजेन्सी