७ हजार ५०० कार्मचारी हटाउँदै एयर फ्रान्स

असार २१, पेरिस (फ्रान्स) । फ्रान्सको राष्ट्रिय ध्वजाबाहक एयर फ्रान्सले करीब सात हजार ५०० कार्मचारीलाई कामबाट निकाल्ने भएको छ ।

कोरोना भाइरसको महामारीका कारण हवाई उड्ययन क्षेत्रमा मन्दी छाएसँगै कम्पनीले यस्तो निर्णय गरेको हो । कम्पनीको पछिल्लो घोषणको एयर फ्रान्सका कर्मचारी संगठनले भने विरोध गरेका छन् । यस विषयमा कम्पनी र संगठनका प्रतिनिधिबीच वार्ता शुरु भएको छ ।

 

 

फ्रान्स सरकारले मे महीनामा ल्याएको आर्थिक सहायता कार्यक्रमबाट कम्पनीले झण्डै ८ अर्ब डलर लिएको थियो । तर यति हुँदा हुँदै पनि कर्मचारी निकाल्न थालेपछि कर्मचारी संगठन आक्रोशित भएको हो । कम्पनीको पछिल्लो निर्णयले अर्थतन्त्रमै असर पार्ने चेतावनी दिएका संगठनले दिएको छ ।

 

 

सरकारी सहायता रकमबाट कम्पनीमा सुधार गर्नुको सट्टा उल्टै कर्मचारीलाई बेरोजगार बनाउन खोजेको गुनासो संगठनका प्रतिनिधिहरुको छ । महामारीका कारण एयर फ्रान्सको उडानमा विगत तीन महीनाभित्र करीब ९५ प्रतिशतले घटेको छ ।

कम्पनीले दैनिक एक करोड ५० लाख युरो गुमाउनु परेको बताइएको छ । महामारीका कारण यस वर्ष विश्वभर विमान सेवा प्रदायक कम्पनीहरुले कम्तिमा ८४ अर्ब डलर क्षति बेहोर्ने अनुमान गरिएको छ । केही कम्पनी बन्द हुने क्रममा छन् । विश्वको एयरलाइन्स व्यवसाय लयमा फर्किन केही वर्ष लाग्ने विज्ञहरु बताउँछन् ।

महामारीका कारण विश्वभर विमान सेवा प्रदायकहरुले धमाधम कर्मचारी कटौती गरिरहेका छन् । फ्रान्सेली बिमान निर्माता कम्पनी एयरबसले करीब १५ हजार कर्मचारी हटाउने घोषणा शुक्रवार गरेको थियो । रासस/एपी