फलेबास नगरपालिका पर्बत देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ

पोखरम । फलेबास नगरपालिका पर्बत देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको छ।

देशभरका नगरपालिकाबाट आ. व. २०७५/७६ मा राजश्व लगानी तथा वित्तीय व्यवस्थापनका क्षेत्रमा सम्पादीत कामको नेपाल नगरपालिका संघबाट पूर्व निर्धारित सूचकहरुका आधारमा विशेषज्ञहरुको टोलीबाट मूल्यांकन गर्दा फलेबास नगरपालिका पर्बत देशभरका नगरपालिकाहरु मध्ये उत्कृष्ठ नगरपालिकाको रुपमा पुरस्कृत भएको हो।

नगरपालिकाबाट सम्पादित कामको उच्च मूल्यांकन गर्दै नेपाल नगरपालिका संघको २८ औ वार्षिक उत्सवका अवसरमा आयोजित कार्यक्रममा फलेबास नगरपालिका नगरप्रमुख  पदमपाणी शर्मा सम्मानित भएका हुन्।

 

फलेवास नगरपालिकाको संक्षिप्त परिचय

फलेवास नगरपालिका गण्डकी प्रदेश स्थित पर्वत जिल्लाको मध्यभागमा रहेको छ । यो नगरपालिका भौगोलिक विविधताले भरिएको एक रमणीय क्षेत्रको रुपमा चिनिन्छ । यस नगरपालिकाको सिमानामा पूर्वमा स्याङ्गजा जिल्ला र महाशिला गाउँपालिकाको केही भाग, दक्षिणमा स्याङ्गजा जिल्ला, महाशिला गाउँपालिका र विहादी गाउँपालिकाको केही भाग, पश्चिममा वाग्लुङ्ग जिल्ला र उत्तरमा कुश्मा नगरपालिका पर्दछन । यस नगरपालिकाको कुल क्षेत्रफल ८५.७ वर्ग कि. मी. रहेको छ । उचाईका हिसावले समुद्री सतहबाट ६२० मिटर उचाईमा रहेको वडा नं ११ मा पर्ने पाङ्गराङ्गको कालिगण्डकी किनारको वगर देखि २२६६ मिटर उचाईका पाङ्गराङ्ग र कुर्घाको शीरमा रहेको चिसापानिको लेक र २२५९ मिटर उचाईमा रहेको डहरेको लेक समेतको अग्ला होचा समथर भू–भाग यस नगरपालिकामा पर्दछन ।