काँग्रेस अनुशासन समितिको कार्यमाथि नेता पौडेलको प्रश्न

काठमाडौँ, साउन १५ गते । नेपाली काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टीको केन्द्रीय अनुशासन समितिको कार्यमाथि प्रश्न उठाउनुभएको छ । उहाँले आज सामाजिक सञ्जालमार्फत बागी उम्मेदवार, उम्मेदवारी खोसिएका र निर्वाचनपछि पार्टीको आन्तरिक विवादमा परेका व्यक्तिलाई विधानको एउटै दफा प्रयोग गरी कारबाही गरेको जनाउँदै समितिको कार्यमाथि प्रश्न उठाउनुभएको हो ।

 

 

नेता पौडेलले गत निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिने ३२ उम्मेदवार र प्रस्तावक–समर्थकलाई विधानको दफा ४ बमोजिम पार्टी सदस्यता नरहने गरी निष्कासन गर्दा तनहुँ क्षेत्र नं १ का बागी उम्मेदवारलाई कारबाही नगरेकामा असन्तुष्टिसमेत जनाउनुभएको छ ।

 

 

उहाँले तनहुँ क्षेत्र नं १ मा बागी उमेदवारी दर्ता गरेका गोविन्दराज जोशीसँग जोडेर सांसदको उम्मेदवारी खोसिएका कैलालीका पुष्करनाथ ओझालाई स्पष्ट आधार र कारणबिना बागी उम्मेदवारलाई सघाएको भनेर विधानको दफा ३४ बमोजिम पाँच वर्षका लागि पार्टीबाट निष्कासनको कारबाही गर्नाले समितिको नियत र कार्यक्षमतामाथि गम्भीर प्रश्न उठेको उल्लेख गर्नुभएको छ ।

 

 

शनिबार बसेको समिति बैठकले तनहुँ निवासी पूर्वसहमहामन्त्री एवम् पूर्वमन्त्री जोशी र कैलाली निवासी पूर्वराज्यमन्त्री एवम् महासमिति सदस्य ओझालाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा पाँच वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णय गरेको थियो । सोही बैठकले डडेल्धुराका जिल्ला कार्यालय सचिव रामबहादुर विष्टलाई पार्टीको विधानअनुसार अनुशासन उल्लङ्घन गरेको आरोपमा तीन वर्षका लागि पार्टीबाट निष्कासन गर्ने निर्णयसमेत गरेको थियो ।रासस